• २४ जेठ २०८२, शनिबार

पुस्तक

अविराम गुन्जियोस् लोरी

blog

कतिपय कृति लेखकका स्वभावगत आशयमा रहेर आँखाले भन्दा आत्माले पढ्नुपर्ने हुन्छ । खिम केसीको ‘लोरी’ गजलसङ्ग्रह यस्तै एउटा कृति हो । 

‘लोरी’ को गहिराइ कि खिम केसी जस्तै निश्चल र अबोध बालक अदामा पढ्दा बुझिन्छ कि त धेरै जानेर पनि सरल र सोझा रहनुमै बुद्धिमत्ता सम्झने बाआमा बनेर । केसीको लेखकीय स्वभावसँग परिचित मैले ‘लोरी’ दोहोर्‍याएर त पढेँ तर ‘लोरी’ भित्रका कुनै पनि गजललाई प्रतिस्पर्धात्मक रूपमा पढिनँ किनकि उहाँ चर्चित साहित्यकार बन्नकै लागि आनुभएको होइन । कृति जन्मनुको श्रेय पनि उनलाई लिनु छैन । गजलकार केसी ती सरल व्यक्ति हुनुहुन्छ, जसको प्रतिस्पर्धा आफैँसँग पनि छैन । तसर्थ उहाँद्वारा ‘लोरी’ मा जे लेखिए; त्यसमा दिमागको प्रयोग कम, मन र आत्माको आवेग–संवेग ज्यादा भेटिन्छ । 

कतिपय अवस्थामा कृतिकार आक्रोशित देखिनुभएको छ । कतिपय अवस्थामा अति सकारात्मक र आशावादी । देशसम्बद्ध गजलमा उहाँको नैराश्य, लाक्षणिक व्यङ्ग्य र तिक्तता बढी भेटिए पनि शृङ्गारिक गजलमा उहाँ प्रेमिल र भावुक देखिनुहुन्छ । उच्च चैतन्यको प्रयोगसमेत भेटिने ‘लोरी’ भित्रका केही गजल जीवन दर्शनको बलियो सत्यलाई समेत समेट्न सफल देखिन्छ । दाङको घोराही गुलरियाका गजलकार केसीले अमेरिकामा रहेर तयार पार्नुभएका गजलमध्ये केही गजलमा मध्य र सुदूर जिल्लाका भाषिक आत्मीयता भेटिन्छन् । उहाँका गजलका सुर, ताल र लय उहाँ जस्तै सरल देखिन्छ; जहाँ प्रकृति, परम्परा, मान्यता, बाध्यता, मनोगत संवादात्मकता, आदत, लत, कुलतलगायतका नतिजागत अवस्थालाई दर्साइएको छ । 

लोरी संस्कार हराउँदै गएको समयमा मुग्लानबाट जन्मिएको यो कृति काठमाडौँ र गृहजिल्ला दाङमा गरी छुट्टाछुट्टै विमोचन गरिएको थियो । कृति सार्वजनिकीकरणका दुवै कार्यक्रम सफल साहित्यिक कार्यक्रमका रूपमा रहेका थिए । नेपालका अग्रज र समकालीन धेरै साहित्यकर्मीसँगको छलफलपछि प्रकाशित कृति हो यो । यसमा गजलको संरचनात्मकता र संवेदनात्मक पक्षलाई ध्यान दिई चर्चित साहित्यकर्मीमाझ नै सम्पादन भएकाले यसमा पक्कै त्रुटि छैन भन्न सकिन्छ ।

‘लोरी’ बिक्रीबाट सङ्कलित चार लाख रुपियाँको बालप्रतिभा कोष स्थापनासमेत भइसकेको छ । राप्ति जिल्लाकै ठुलो साहित्यिक कोषका रूपमा रहेको सो रकमलाई मात्र हेर्ने हो भने पनि ‘लोरी’ छोटो समयमै राम्रो व्यापारिक सफलता हात पार्न सफल पुस्तक हो भन्न किन कन्जुस्याइँ गर्ने ? उसो त बालप्रतिभा कोषबाट प्राप्त ब्याज रकमबाट हरेक दुई वर्षमा बालप्रतिभा प्रतियोगिता गरिने निर्णय भएको छ । यो अर्को उत्कृष्ट पक्ष हो; जुन प्रतियोगितामा साहित्यका विविध विधासहित चित्रकला, सङ्गीतलगायतमा सम्भावना भएका बालबालिका पहिचान र थप वातावरण सिर्जनामा सहायक बन्न सक्छ । तसर्थ प्रकाशनको एक वर्षलाई फर्केर हेर्दा ‘लोरी’ असफल पुस्तक भने होइन । 

हरेक सिर्जनाको आआफ्नै भाग्य हुन्छ, सफल र असफल दुवैखाले कृति समीक्षा संस्कारले कृतिले पुनः दोहोरिने मौका पनि पाउँछन् । प्रकाशित पुस्तकलाई हरेक एक वर्षमा फर्केर हेर्ने संस्कारको विकासले कृति पुनर्उत्थान परम्परा र साहित्यिक सेतु निर्माणमा मद्दत पुग्छ । नत्र कर्मगत यात्रामा जसरी हामीबाट आमा छुट्दै गए, आमासँगै लोरी पनि छुट्दै गयो । त्यसै गरी सिर्जनाका अथाह सम्भावना पनि टाढिँदै जान्छन् । यसबाट नयाँ कृतिकार र पुराना कृतिकार दुवै प्रभावित हुन पुग्छन्; जसबाट नयाँ कृति सिर्जनाका निम्ति दबाबको वातावरण बन्न सक्दैन । 

कृतिगत विशेषताको पुनर्चर्चाको संस्कार स्थापित गर्ने हो भने कमर्सियल रूपमा राम्रा पुस्तकबाट थप आम्दानी गर्न सकिन्छ । यसबाट सङ्कलित रकमले साहित्यिक उपयोगी अन्य कामहरू हुन सक्छन्, चर्चाबाहिरका पुस्तकले नयाँ पाठकसम्म पुग्ने दोस्रो अवसर पाउँछन् । उसै पनि प्रवासी नेपालीका अधिकांश कृति उनीहरू आआफ्ना कर्मदेश फर्किएसँगै मौन नै देखिन्छन् । मिडियाभन्दा पर रहने उनीहरूका कृति प्रकाशनको स्पष्ट उद्देश्य पाठकसम्म पुग्न सक्दैन । नजिकका साहित्यकर्मीको सिर्जनशील समय र दिमाग समीक्षा लेखेर बस्नेभन्दा रोजीरोटीमै दौडाउनुपर्ने बाध्यतामा छ । प्रकाशनगृह नजिक हुँदा मात्र पनि आफ्नो कृतिको बजारीकरणमा नयाँ अवधारणा, साहित्यकर्मीसँग समीक्षागत छलफल, सञ्चार सामग्री र बजारीकरणमा स्वप्रचारलगायतका वातावरण बन्ने गर्छन् । प्रवासी साहित्यकर्मीका जस्तै समान समस्या मोफसलका रहेका साहित्यकारमा पनि देखिन्छ । राजधानीमा पुस्तक विमोचन गरेर फर्कनेहरूका बलिया सिर्जनासमेत त्यसपछि मौन छन् । 

बिएन पुस्तक संसारले बजारमा ल्याएको ‘लोरी’ मा राष्ट्रिय योजना आयोग अन्तर्गतका विभिन्न कार्यक्रमसहित मध्य र सुदूर बस्तीमा बिताएका समयदेखि मुग्लानी मनका संवेगमिश्रित गजलहरूमा भौतिकता र आत्मिकताको सजीव सम्मिश्रण पाइन्छ । १९९ पेजको यस गजलसङ्गहमा सङ्गृहीत एक सय गजलका बारेमा चर्चित साहित्यकार तथा गजलकार टीकाराम उदासी, प्रदीप रोदन र गोवर्धन पूजाले समीक्षात्मक दृष्टिकोण राख्नुभएको छ । उहाँका बालसखा साहित्यकार लेलिन बन्जाडेले कृतिकार केसीका स्वभावगत सरलता र सबलताका बारेमा समेत बोल्नुभएको छ । 

गजलकार तथा चित्रकार रसिक राजको आवरण सज्जा तथा गजलगत स्केच रहेको पुस्तकका हरेक गजलले बोल्न खोजेको सत्य चित्राङ्कित शैलीमा समेत व्यक्त गरिँदा ‘लोरी’ शब्द र चित्रको कलात्मक संयोजनका रूपमा समेत बलियो देखिन्छ । 

पाठकीय दृष्टिबाट हेर्दा ‘लोरी’ शीर्ष नाम अनुरूपकै लयमा बग्न सकेको भए कृति सफलताका अन्य थप सम्भावनालाई समेत समेट्न सक्थ्यो कि पछिसम्म भन्ने चाहिँ मलाई लागेको हो । केसी सङ्गीतकर्मीनिकट साहित्यकार भएकाले धेरै गजल सङ्गीतबद्ध गर्ने प्रशस्त वातावरण थियो यद्यपि गजलहरूमा राजनीतिक आक्रोश, सामाजिक मान्यता, वैचारिक तिक्तता मिश्रण भइदिँदा अति थोरै गजल मात्र सङ्गीतबद्ध हुन पाए । 

लोरीको प्रकृति कठोर होइन, अति मधुर र कोमल विषयलाई भिन्न भिन्न रङ्गमा प्रस्तुत गर्न सकिन्थ्यो । एक सय लोरी तयार गर्दा धेरै बालगजल रेकर्ड हुने सम्भावना पनि रहन्थ्यो । शैक्षिक क्षेत्रसम्बद्ध साहित्यकर्मीसँग पनि बालगजल ‘कन्सेप्ट’ मा सहकार्यको वातावरण सिर्जना हुन सक्थ्यो । यसले अमेरिकामा रहेका अभिभावक र बालबालिका तथा नेपाली भाषा पाठशालासँग सहकार्यसम्बद्ध कार्यक्रम बन्न सक्थ्यो तर एउटा सिङ्गो पुस्तकमा एकै विषय मात्र दोहोरिँदा पाठकलाई मज्जा नआउने सत्य पनि ध्यानमा राखिनुपर्ने हुन्छ । वाचनका लागि उत्कृष्ट गजल छन् ‘लोरी’ भित्र प्रशस्तै । उसै पनि प्रकाशित भइसकेको कृतिमाथि गरिने समालोचकीय सुझावभन्दा बाँकी शिराबाट पुस्तक दोहोरिने वातावरण सिर्जनाले अर्थ राख्दछ ।