• १० मंसिर २०८१, सोमबार

झिल्टुङकोत नियाल्दा

blog

कुनै बेला सारा गाउँलेको न्यायनिसाफ छिनोफानो हुने थलो हो – झिल्टुङ थुम्को । अचेल यहाँ बडादसैँ, गाईजात्रा र लाखेजात्रामा मात्र भिडभाड हुन्छ, रौनकता छाउँछ । २०७८ साल वैशाखमा झिल्टुङ कोतघरको पूर्वाधार निर्माण गर्न जग खन्ने क्रममा केही पुराना सामग्री कोतघरको जगमा फेला परेको थियो । 

सो सामग्रीको तस्बिरसहितको निवेदन र स्थानीय तहको सिफारिस लिएर पुरातìव विभागलाई प्राचीनताकोे अनुसन्धानका लागि अनुरोध गरिएको थियो तर केही कुरो चाल पाउन सकिएन । हामीले भने खोजी, अध्ययन–अनुसन्धानको यात्रालाई निरन्तरता दियौँ । त्यही आधारमा यो आलेख तयार भएको हो । 

यहाँको नेवार गाउँबाट चौरासी हात खाँडी (कपडा) जम्मा हुन्थ्यो । सात जना ब्राह्मण र दुई जना उपासेलाई खाँडी दिने र उनीहरूलाई कुमारीमाईका थानमा पाठ गर्न लगाउने चलन थियो । कुमारीमाईका थानमा त्यहाँका भण्डारीले निजी पुजारी राखेका थिए । ती पुजारीलाई महादेव फाँटमा जग्गा दिइएको थियो । यहाँ कुँवरहरूको पनि बसोबास छ । उनीहरूका अलग्गै पुजारी छन् । 

थापाहरूका पनि अलग्गै पुजारी छन् । फरक फरक थर भएकाहरूले फरक फरक ढङ्गले पूजा गर्ने चलन अझै पनि छ । मूल पुजारीका लागि जग्गा छ, जसलाई त्रिपुरेश्वर गुठी भनिन्छ । यो जग्गा पुजारीको फूलबारी हो । फूलबारीमा अहिले पनि फूल रोप्ने, हेरचाह गर्ने र त्यहीँको फूल कुमारीमाईको मन्दिरमा हरेक दिन चढाएर पूजा गर्ने चलन अद्यपि छ ।

झिल्टिुङकोतमा उहिले गुठियारको चलन थियो । सामाजिक कथन छ– शिशु मल्लको पालादेखि चलिआएको चलन हो भन्ने । यो चलन चलाउने शिशु मल्ल नै थिए वा जनश्रुतिले शिवसिद्ध मल्ललाई नै शिशु बनाइदियो, त्यो इतिहास केलाउन बाँकी नै छ तर यो प्रथा वा विरासतको बिँडो झिल्टुङेहरूले हालसम्म थामेका छन् । 

कोतघरको मौलो सम्हाल्दै आएका काजी विनोदजङ्ग भण्डारी भन्नुहुन्छ, “हाम्रा पुर्खाले यहाँ कोत बनाएका रहेछन्, जग्गाजमिन त टन्नै थियो । कोहीलाई बोका, कोहीलाई तिले (घर छाउन प्रयोग गरिने) र कोहीलाई खर (घर छाउन प्रयोग गरिने) तिरो तोकिएको थियो । कसैलाई नगरा, कसैलाई कटुवाल र कोही उपासे तोकेर आवश्यकता अनुसार कोतका गुठियार थिए ।”

गुठी हेर्ने गुठियार र त्यसका मोहीहरू विनोदजङ्गका बाजेले निजी राखेका थिए । नगरा बजाउनका लागि जग्गा कमाउनेले कोतघरका लागि नगरा बजाउनैपर्ने पालो आउँथ्यो । हाल यी जग्गाधनी सबैको मोहीपुर्जा छ । उहाँ भन्नु हुन्छ, “हाम्रो १८४ रोपनी जग्गा हजुरबाले कोतघरमा प्रमाणित गरेर अदालतबाट फैसला भएको थियो । त्यस बेला मुखको प्रमाण त हो नि ! कसैले बुवा यति जग्गा खोरिया फाँडेर खान पाए कोतघर र देउतालाई चार माना चामल चढाउँछु है भनेपछि उहाँले रसिद बनाइदिनुहुन्थ्यो ।” 

कोतघरका लागि स्थानीय मगरहरू उपासे बस्ने गर्थे । अहिले छोडे । हिजोआज तिरो पनि उठ्न छोडेको छ । विनोदजङ्गले नगरपालिकाबाट केही बजेट आएपछि तिरो उठाउने मान्छे खटाउन पनि छोडेको तीन वर्ष भयो । “गुठीयारलाई उताबाट तिमीहरूले पूजालाई थोरबहुत देऊ, म लगेर चढाइदिन्छु । अब वडामा एकैचोटि तिरो त तिर्नु पर्छ भन्ने गरेको छु,” उहाँले भन्नुभयो ।

उहाँलाई सम्झना छ– गुठीको खाँडी उठाउँदा एकैचोटि ६० हातसम्म उठाएको तर अचेल यसरी उठ्दैन । पहिले एक हात खाँडीको एक हात कोरा (कपडा) बुझ्ने चलन रहेछ । यो जम्मा गर्न मुखिया बनाइएको थियो, जसले बोकाको छुट्टै, खाँडीको छुट्टै, तिलको छुट्टै, धानको छुट्टै र पुजारीको छुट्टै ल्याएर बुझाउँथ्यो । 

त्यो चलन अहिले लगभग छैन । गुठी संस्थान भद्रकालीको रेकर्ड अनुसार झिल्केश्वर गुठी पाँच रोपनी, भीमेश्वर गुठी पाँच रोपनी र कामरु गुठीको जग्गा पाँच रोपनी आठ आना जग्गा रहेको भेटिन्छ ।

विनोदजङ्ग भण्डारीले विरासतको बिँडो थामेको यो कोतमामलीत गुठीको मूलकोटको मौलो ललितजङ्ग भण्डारीको जिम्मामा रहेको थियो भन्ने विभिन्न घटनाव्रmमले थाहा हुन्छ । १८६० सालतिर काजीबहादुर भण्डारी नेपालको राजदरबारका शक्तिशाली भारदार अर्थात् सरदार थिए । उनै काजीबहादुर भण्डारीले पाएको फिकदार बिर्ता झिल्टुङ थियो भन्ने कुरा विनोदजङ्गको घरमा प्राप्त पत्रले प्रमाणित हुन्छ ।

काजीबहादुर भण्डारी नेपाल एकीकरण अभियानका योद्धा थिए । उनी धनकुटा गौँडाका पहिलो प्रशासक पनि भए । १८७१–७२ मा नेपाल–अङ्ग्रेज युद्धमा उनले मोरङ मधुवनीको युद्ध मोर्चा सम्हाले । जनश्रुतिमा रहेका केही तथ्य र इतिहासका पत्रको तुलनात्मक अध्ययनले यो इतिहासलाई बुझ्न अझै मद्दत गर्छ । २०२१ सालमा पण्डित दुर्लभ लामिछानेको पुस्तकमा पढेका श्लोक स्थानीयवासी कृष्णप्रसाद लामिछानेलाई कन्ठस्थ छ,

झिल्टुङको मध्ये बिचमा, असल रमणीया एक पर्वत रह्याको 

माई कुमारी ईश्वरी भगवतीको थान सुन्दर रह्याको ।

रस्ता बाटो वरिपरि हिटी हुन देवीका थानमहाँ 

ठण्डा छाहरी त्रिशूल नदीको दर्शनै मिल्छ जहाँ 

एक भण्डारी दुई काजीलाई, रक्षा गरिदेउ हे कुमारी माई ।

नेपाली राजनीतिमा दरबार र भारदारहरूको भिडन्तको कथा धेरै छ । दरबारभित्र भएका कत्लेआमको घटनाका रूपमा १९०३ को कोतपर्वलाई लिने गरिन्छ । त्यस बेला काजीबहादुरका छोरा बखतबहादुर भण्डारीसमेत सोही षड्यन्त्रको सिकार बनेर कोतमा मारिएका थिए । कोतपर्वपछि काठमाडौँबाट विस्थापित उनकै सन्तान हालसम्म यो झिल्टुङ क्षेत्रमा बसोबास गर्दै आएको पाइन्छ ।

स्थानीय दीपक भण्डारी भन्नुहुन्छ, “जे जस्तो समस्या परे पनि हामीले पुर्खाको धर्म थामेका छौँ ।” झिल्टुङको बिचमा रहेको डबलीको पनि उत्तिकै महìवपूर्ण इतिहास छ । डबली, लाखेनाच र रोपाइँ जात्रा सम्बन्धित छन् । डबली मल्लकालीन संस्कार हो, संस्कृति हो ।

विनोदजङ्ग भन्नुहुन्छ, “पुर्खाले सानो डबली र ठुलो डबली बनाए । मुद्दामामला पर्दाखेरि काजी उतापट्टि अरू भाइ भारदारहरू यतापट्टि बसेर फैसला गर्ने प्रचलन थियो । नानीपाध्या, ज्ञाने र हाम्रो हजुरबा भएपछि त्यो बेला ज्यानमारा मुद्दा त यहीँ छिनाफानो हुन्थ्यो रे ।” डबली समकालीन न्याय प्रणालीको प्रतीक हो । जनताको अदालत थियो यो डबली ।

ललितजङ्ग भण्डारी योगी नरहरिनाथ नेतृत्वको इतिहास लेखन समितिका सदस्य थिए । उनले २०२१ सालमा काठमाडौँ नगर पञ्चायतमा निवेदन दिए र आफ्नो पुर्खाले निर्माण गरेको असनको मच्छिन्द्रबहालको सतल संरक्षणका लागि पनि अनुरोध गरेका थिए । २०१५ सालमा डिल्लीरमण रेग्मी नेतृत्वको राष्ट्रिय कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए ललितजङ्ग भण्डारी तर हारे । निर्वाचनअघि नै उनीमाथि नुवाकोट जिल्ला अदालतमा कोतको मुद्दा परेछ । ललितजङ्गले अदालत गएर यो हो मेरो प्रमाण भन्दै पेस गरेका थिए । 

जग्गा कोतघरको नाममा बनाउन हजुरबा ललितजङ्गले हाकिमसँग छलफल गरेर प्रमाण बनाएको विनोदजङ्गको भनाइ छ । प्रमाण त बनाए तर काजी ललितजङ्गले सोचे, “मरेर जाने जिन्दगी हो, भोलि छोरानातिले घात गर्दिए र जग्गा खाइदिए भने गाउँलेको उठिबास लाग्छ ।” त्यसैले उनले गुठी र कोटको नाममा जग्गा राखिदिए । अहिलेसम्म पनि ललितजङ्गको जिम्मा रहेको कोतमामलीत गुठी भन्ने लिखतमा उल्लेख गर्ने चलन छ । हजुरबुवा बितेपछि विनोदजङ्गले पुर्खाको काम गरिरहनुभएको छ ।