राजन रावत
हुम्ला, भदौ २२ गते । जिल्ला अस्पतालमा अक्सिजन बुष्टर फिलिङ मेसिन पहिलो पटक स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ मेसिन स्थापना भएसँगै अब जिल्लामै अक्सिजन उत्पादन भएर सिलिण्डरमा भरिन थालेपछि बिरामीलाई उपचारमा सहज भएको हो ।
मेसिनको जडान कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै उहाँले निक्कै प्रयासका बीच अक्सिजन बुष्टर फिलिङ मेसिन स्थापना गरेर सञ्चालनमा आएपछि खुसी व्यक्त गर्दै अब कोही पनि जिल्लावासीले अक्सिजन नपाएको गुनासो सुन्नु नपर्ने अवस्था आएको बताउनुभयो।
यसअघि बाहिरबाट अक्सिजन भरिएका सिलिण्डर ल्याउदा सकिएपछि बिरामीलाई समस्या हुने गरेको बताउँदै अब त्यो समस्याले बिदा लिएको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले चार वटा मेसिन सञ्चालनमा आएसँगै अब दैनिक ४५ लिटरको १२ देखि १३ वटा सिलिण्डरमा अक्सिजन भर्न सकिने बताउनुभयो । नयाँ मेसिनबाट एक पटकमा तीन वडा सिलिण्डर भर्न सकिनेछ । उहाँले सिलिण्डरमा भरिएको अक्सिजनलाई सिधै बिरामीको वार्डमा पुर्याउने व्यवस्था भएकोले अब अक्सिजनको कमी नहुने बताउनुभयो ।
मेसिन स्थापना हुनुअघि ठुला सिलिण्डरमा सुर्खेत र नेपालगञ्जबाट भरेर ल्याउन निक्कै सास्ती खेपेको स्मरण गर्दै उहाँले अक्सिजनको अभावमा धेरै बिरामी जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको बताउनुभयो । उहाँले पहिलो कुरा अक्सिजनका लागि बजेटको व्यवस्थाका लागि पहल गर्नुपर्ने, त्यो भएपछि अक्सिजन जिल्लामा ल्याउनका लागि जहिल्यै पनि चिन्ता हुने गरेको बताउनुभयो । मेसिनका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ४५ लाख बजेट आएकोमा टेण्डर आह्वान गर्दा ३९ लाख ९० हजारमा मेसिन स्थापना गरिएको हो । कार्यक्रममा कर्णाली प्रदेश सभाकी सदस्य विजय बोहराले अक्सिजन बुष्टर फिलिङ मेसिन स्थापना हुनु जिल्लाकै लागि गौरवको कुरा भएको बताउनुभयो ।