• १३ साउन २०८१, आइतबार
blog

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ २१ गते । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दसैँअघि वितरण गर्न असम्भव भएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले काठमाडौँमा पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको जानकारी दिनुभयो । 

ढुङ्गा, माटोले के कति पुरिएको छ भन्ने बर्सात सकिएपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । “अहिले मुहान क्षेत्रमा पुग्न सक्ने अवस्था छैन । प्राविधिकहरूको भनाइ अनुसार १६ मिटरभन्दा बढी हेडवक्र्स र सुरुङको मुख वरपर ढुङ्गा, माटो र गेग्य्रान थुप्रिएको छ,” श्रेष्ठले थप्नुभयो । 

बाढीले सडक र गोरेटो बाटो बगाएको छ । बाढीले क्षति पु-याएको मुहानस्थलको अवस्था जानकारी लिन तीन सय मिटर टाढाबाट ड्रोन क्यामराको प्रयोग गरिएको थियो । उक्त क्षतिबारे मुख्य ऋणदाता एसियाली विकास बैङ्कलाई जानकारी गराइसकिएको आयोजनाले जनाएको छ । 

भेमाथाङ पहिरोको लेदो, माटो, ढुङ्गासहित आएको बाढीले क्षति पुगेको हेडवक्र्स अस्थायी मर्मत गर्न दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले दसैँअघि उपत्यकामा पानी पठाउन मुस्किल हुने निर्देशक श्रेष्ठले बताउनुभयो । मेलम्चीको जलाधार क्षेत्रमा धमिलो पानीसहितको बाढी आएपछि असार १८ गतेदेखि आयोजनाको हेडवक्र्सबाट सुरुङमा पानी हाल्न रोकिएको छ । आयोजनाले सुरुङमा पानी पठाउन रोकेका कारण ठुलो क्षति नभएको आयोजनाले जनाएको छ । सुरुङको मुखमा ठुला फलामे पाता राखेर पानी पठाउन रोकिएको छ । 

आयोजनाका इन्जिनियर पदम कुँवरले बाढीसहित आएको माटो, ढुङ्गाको गे्रग्य्रानले गेट पुरिएको र गत वर्षको भन्दा अहिलेको क्षति बढी भएको जानकारी दिनुभयो । सतहमुनि रहेको संरचनाको अवस्था के छ भन्नेबारे अहिलेसम्म खोतलेर हेर्न नसकिएको सो आयोजनाले जनाएको छ । 

मेलम्चीको पानी पहिलो पटक २०७७ फागुन २२ गते सुन्दरीजलमा पु-याइएको थियो । त्यही वर्षको चैत १५ गतेदेखि परीक्षणस्वरूप काठमाडौँमा पानी वितरण गरिएको थियो तर २०७८ असार १ गतेको बाढीले क्षति पु-याएपछि पानी वितरण बन्द भएको थियो । बाढीले क्षति पुगेको मुहान क्षेत्र र अन्य संरचना मर्मत सुधार गरेर २०७८ चैत अन्तिम साताबाट फेरि पानी वितरण गरिँदै आएको थियो  

मेलम्ची आयोजनामा ६५ अर्ब रुपियाँ लगानी भइसकेको छ । अम्बाथानबाट २३ किलोमिटर सुरुङमार्फत सुन्दरीजलमा मेलम्चीको पानी खसालिएको छ । सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका पठाउन सकिन्छ ।