काठमाडौं, भदौ २० गते । ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गतको मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले जित्नुभएको छ ।
१० प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जित्नुभएको हो । शारीरिक सुगठनतर्फको विभिन्न दश तौल समूहका विजेताबिच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गर्नुभएको थियो ।
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अङ्क हासिल गर्दै टिम च्याम्पियनसिपमा तेस्रो भयो । पुरुषतर्फ भारत ७९५ अङ्कका साथ पहिलो र थाईल्याण्डले ५९० अङ्कका साथ दोस्रो भयो ।
महिलातर्फ थाइल्याण्डले टिम च्याम्पियनसिपको उपाधि उचाल्यो । भियतनाम दाेस्रा र हङ्कङ् तेस्रो भयो । बुधबार सम्पन्न पुरुष एथलेट फिजिक्स १८२ सेमीमा नेपालका विप्लव कार्कीले कांस्य पदक जित्नुभयो । यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत जित्नुभयो ।
नेपालले यस च्याम्पियनसिपमा तीन स्वर्ण ६ रजत र पाँच कांस्य पदक प्राप्त गर्न सफल भएको छ । विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठले ५५ केजी शारीरिक सुगठनले स्वर्ण जित्नुभयो ।
सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गर्नुभयो ।
कमल भण्डारी ६० केजी, कृष्णप्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लव कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कांस्य पदक प्राप्त गर्नुभयो । च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्कङ् चाइना, भारत, काजाखस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो । च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।