• १३ मंसिर २०८१, बिहिबार

एसियाडका लागि रग्बीको वैदेशिक प्रशिक्षण मलेसियामा

blog

काठमाडौं, भदौ २० गते । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुने नेपाली पुरुष रग्बी टोलीको थप तयारी र वैदेशिक प्रशिक्षण मलेसियामा हुनेभएको छ ।

प्रशिक्षणका लागि नेपाली टोली मंगलबार नै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । १२ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरी १५ सदस्यीय टोली मलेसिया प्रस्थान गरेको हो ।

विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीका अन्य सदस्यमा श्रीराम श्रेष्ठ, विक्रम पुरी, निरोज कार्की, विवेश बासु, यदु अधिकारी, झुकेन्द्र राई, विशाल बडु, सविन महत, नवीन महर्जन, पूजन फेवाली र सुमन चौलागाईं हुनुहुन्छ । 

प्रशिक्षकमा श्रीलङ्काका विजेलथ सिन र टङ्कराज गिरी तथा व्यवस्थापकमा नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरे रहनुभएको छ । १६ दिनको प्रशिक्षणपछि नेपाली टोली स्वदेश फर्किएर चीन जाने बताइएको छ । एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो ।