• ६ जेठ २०८१, आइतबार

मेहेलकुना अस्पतालमा भौतिक पूर्वाधार अभाव

blog

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पताल ।

रजनी योगी

सुर्खेत, भदौ २० गते । शय्या विस्तार गरिएपनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार अभाव हुँदा दैनिक सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका प्रमुख डा. सोजन सापकोटा बताउनुहुन्छ ।

१५ शय्याको अस्पताल स्तरोन्नतिका नाममा ५० शय्याको बनाइएको छ । तर ५० शय्याबाट दिनुपर्ने सेवाका लागि भवन पर्याप्त छैन । अस्पतालबाट नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । जसले गर्दा नागरिकले गुनासो गर्ने गरेका छन् । 

अस्पतालको शय्या थपिएपनि सुविधा नथपिएको भन्दै सेवाग्राहीहरू आक्रोशित हुने गरेका छन् । अस्पतालमा आवश्यक पूर्वाधार नहुँदा सेवा प्रवाह गर्न समस्या भएको अस्पतालले जनाएको छ । पूर्वाधार अभाव नै सेवा प्रवाहको मुख्य बाधक भएको प्रमुख डा. सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले शय्या थप गर्ने काम गर्‍यो। तर सोहीअनुसारको पूर्वाधारको व्यवस्था छैन । दैनिक सेवा प्रवाह गर्न असहज भइरहेको छ ।”

नयाँ भवन निर्माण कार्य थालिएको समेत बर्सौँ बितिसक्दासम्म पनि सम्पन्न भएको छैन । हाल अस्पतालको सेवा साँघुरो भवनबाट सेवा दिने गरिएको छ । सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालयका प्रमुख डा. सापकोटाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । मौसमी रोगका बिरामी बढेका छन् । दैनिक सरदर डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सापकोटाले जानकारी दिनुभयो ।

साँघुरो भवनबाट सेवा दिँदा एकै कोठामा भिड धेरै हुने गरेको छ । “अहिले अस्पतालमा बिरामीको चाप बढी छ, फेरि सुत्केरीको सङ्ख्या पनि बढेको छ,” प्रमुख डा. सापकोटाले भन्नुभयो, “भवन अभावका कारण ठाउँ साँघुरो भएको छ, सेवा दिन पनि समस्या छ ।” अप्रेसन पश्चात् बिरामीलाई राख्ने ठाउँ अपुग हुँदा समस्या भएको उहाँले बताउनुभयो । इमरजेन्सी, अपरेशन थियटर, ल्याबलगायतका सेवा प्रवाह गर्न समेत निकै समस्या भएको छ । पूर्वाधारको अभाव धेरै नै रहेको भन्दै उहाँले भवन निर्माणको काममा ढिलाइ भइरहेको बताउनुभयो ।

जनशक्ति पनि अपुग

भौतिक पूर्वाधारसँगै अस्पतालले जनशक्ति अभावको समेत समस्या झेल्दै आएको छ । एकातर्फ अस्पतालको दरबन्दी नै पर्याप्त छैन । त्यसमाथि दरबन्दीअनुसार दक्ष जनशक्ति पनि छैनन् । अस्पतालमा स्वीकृत दरबन्दी ५३ जनाको हो । त्यसमध्ये ४० जना स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् भने १३ पद रिक्त छ । अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी पाँच जनाको भएपनि पाँच वटै दरबन्दी रिक्त छ । चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन् ।

आवश्यक दक्ष कर्मचारीको अभावले गर्दा सेवामा प्रभाव परेको डा. सापकोटा बताउनुहुन्छ । ५० शय्याको अस्पताललाई दरबन्दी नै थोरै भएको र भएको दरबन्दीमा पनि डाक्टरहरू नभएको नहुँदा सेवा प्रवाहमा समस्या भएको उहाँको भनाइ छ । अस्पतालमा जनशक्ति हुँदा पनि करारका कर्मचारी राखिएको छैन ।

२०७२ सालमा स्थापना भएको मेहेलकुना अस्पताल कर्णाली प्रदेश सरकारको मातहतमा रहेको छ । हाल अस्पतालमा विशेषज्ञ डाक्टर छैनन् । ५० शय्याको सेवा दिइरहेको अस्पताल विशेषज्ञ डाक्टरविहीन छ । सङ्घ र प्रदेश सरकारलाई जनशक्ति अभावबारे जानकारी गराएपनि सुनुवाइ नभएको उहाँको भनाइ छ । अस्पतालमा दैनिक दुई सयभन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेका छन् । नयाँ भवन निर्माणकै क्रममा रहेको छ ।