• ११ मंसिर २०८१, मङ्गलबार

तिप्ल्याङ कालीगण्डकी जलविद्युत्को पिपिए

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते । आइएमई समूहको प्रवर्धनमा बन्ने तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बिच उक्त खरिदबिक्री सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

अहिले ५८ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता भएको कम्पनीले जनाएको छ । 

प्रवर्धक कम्पनीका अनुसार आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकाले बाँकी क्षमताको पनि छिट्टै खरिदबिक्री सम्झौता गरिने उल्लेख छ ।

यो आयोजना म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकामा पर्दछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोर अन्तर्गत दाना सबस्टेसनमा जोडिने छ ।

आइएमई समूहकै ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ  । 

दुवै आयोजना २०८६ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । 

आयोजनाको कुल लागत ३३ अर्ब १४ करोड रुपियाँ रहेको जनाइएको छ । आयोजनामा स्वपुँजी लगानी आइएमई समूहलगायतबाट हुने छ भने वित्तीय व्यवस्थाका लागि नबिल बैङ्क लिमिटेडको अगुवाइमा प्रक्रीयामा रहेको कम्पनीले जनाएको छ ।