काठमाडौं, भदौ १९ गते । कराते खेलाडी दीपक श्रेष्ठलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को साधारण सभा तथा निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा आयशा शाक्य (तेक्वान्दो( र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहनुभएको छ । पदाधिकारीमा दीपक बाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा हुनुहुन्थ्यो ।अघिल्लो कार्यसमितिमा दीपक सदस्य हुनुहुन्थ्यो ।
बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सञ्जीव लामा, टेबलटेनिसका पुरुषोत्तम बज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जि डङ्गोल सदस्यमा चयन हुनुभयो ।
नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीले खादा लगाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।
साधारण सभाको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । एक उपाध्यक्ष र तीन सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।