• ११ मंसिर २०८१, मङ्गलबार

‘किताब जात्रा फेस्टिभल’ आयोजना

blog

करुण अर्याल

लन्डन,भदौ १८ गते ।  नेपाली साहित्य विकास परिषद् युके तथा किताब जात्रा फाउन्डेसनको सह आयोजनामा ‘किताब जात्रा फेस्टिभल’ को दशौँ संस्करण आयोजना गरिएको छ ।

दक्षिण पूर्वी लन्डनमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली पहिचान भनेकै आफ्नो भाषा, संस्कृति र कला भएको बताउँदै  नेपाली साहित्यले विश्व साहित्यका विभिन्न विधामा योगदान दिइरहेको बताउनुभयो । उहाँले प्रवासी नेपाली साहित्य र नेपालभित्रको साहित्यलाई अन्तरघुलन गराउनेतर्फ प्रयास गर्न आग्रह गर्नुभयो । 

कार्यक्रमलाई विभिन्न सत्रमा विभाजित गरेर सञ्चालन गरिएको थियो । जसअन्तर्गत प्रवासमा नेपाली साहित्यको चुनौती शीर्षक सत्रमा बोल्दै साहित्यकार वासु शर्माले प्रवासमा रहेका साहित्यकारहरूले प्रकाशन, वितरण र पाठकको समस्या व्यहोरेको जानकारी दिँदै बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुले नेपाली साहित्यको वृद्धिमा योगदान दिँदै आएको उल्लेख गर्नुभयो । 

सञ्चारकर्मी टीकाराम यात्रीले सञ्चालन गर्नुभएको सो सत्रमा बिबिसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीले दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा साहित्यसँग चिनारी गराउन आवश्यक रहेकोमा जोड दिनुभयो । यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष ध्रुव केसीले भाषा र साहित्यको संरक्षण घरबाटै सुरु गर्नु पर्ने बताउनुभयो । नेपाली साहित्य विकास परिषद्की सह अध्यक्ष डा. सुधा शर्मा र युवा साहित्यकार गोपी सापकोटाले प्रवासमा बसेर नेपाली समुदायले नेपाली साहित्यको सेवा गरिरहेको बताउनुभयो । 

किताब जात्रा फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले सञ्चालन गरेको प्रवासमा उद्यमशीलता शीर्षकमा बोल्दै काठमाडौँस्थित द ब्रिटिस कलेजका निर्देशक राजेन कँडेलले नेपालमा गैर आवासीय नेपालीहरूका लागि लगानीका थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा चाटर्ड एकाउन्टेन्ट कृष्णप्रसाद दाहालले पनि आफ्नो धारणा राख्नुभएको थियो । “नेपाली मिडियाका वर्तमान चुनौती” शीर्षकमा बिबिसीका पूर्व पत्रकार भगीरथ योगीले सञ्चारकर्मी टीकाराम यात्रीसँग छलफल गर्नुभएको थियो । 

बेक्स्ली नेपाली कम्युनिटीका अध्यक्ष डा. हरिश ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोयल बरो अफ ग्रिनिचका उपमेयर जीत रानाभाट, नेपाली साहित्य विकास परिषद्का अध्यक्ष कोमल प्रकाश मल्ललगायतले आ आफ्नो धारणा राख्नु एको थियो ।