• १४ मंसिर २०८१, शुक्रबार

कर्मचारीलाई सेवाकालीन तालिम

blog

लेखनाथ समाचारदाता

लेखनाथ, भदौ १८ गते । गण्डकी प्रदेश अन्तर्गत विभिन्न सरकारी कार्यालयमा कार्यरत तीन तहका कर्मचारीका सेवाकालीन तालिम आइतबारबाट सुरु भएको छ । सूचना प्रकाशन गरी मागका आधारमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तालिम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुवात गर्नुभएको हो ।  मुख्यमन्त्री पाण्डेले कर्मचारी संयन्त्रले दिने सेवा प्रवाहबाट नागरिकसम्म सरकार पुग्ने र सरकारको मूल्याङ्कन पनि सोही आधारमा हुने गरेको बताउनुभयो । “कर्मचारीमार्फत सरकारका सेवा जनतासम्म पुग्ने हो, आफ्नो दक्षता, क्षमता बढाउन र छिटोछरितो सेवा दिन यस तालिमले सघाउने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।

सरकारको नेतृत्वमा को आउँछ को जान्छ भन्ने कुरा नहेरी सेवाप्रवाह गर्न उहाँले निर्देशन दिनुभयो । सरकारको नेतृत्व कर्मचारीका लागि गौण विषय भएको उल्लेख गर्दै उहाँले पेसागत दायित्व, ऐन, नियम पालना र नागरिकको सेवालाई मुख्य मार्गदर्शन मान्न आग्रह गर्नुभयो ।  सरकारी सेवाप्रति सर्वसाधारणको निराशा र गुनासोलाई विश्वास तथा आशामा परिणत गर्न कर्मचारी संयन्त्रको सबैभन्दा बढी भूमिका हुने उहाँले औँल्याउनुभयो । ३० दिने सेवाकालीन तालिममा सहायकस्तर पाँचौँ, अधिकृतस्तर छैटौँ, सातौँ, आठौँ तहका गरी १२० जना कर्मचारी सहभागी छन् । 

प्रतिष्ठानका सूचना अधिकारी बाबुराम न्यौपानेले यो वर्ष आठ समूहलाई तालिम दिने लक्ष्य राखिएको सुनाउनुभयो । तालिमका सहभागीलाई प्रतिष्ठानको रोस्टर सूचीका विज्ञहरू, उच्च तहका कर्मचारी, सम्बन्धित क्षेत्रका विज्ञले सहजीकरण गर्ने कार्यक्रम छ ।