• ८ साउन २०८१, मङ्गलबार

छतबाट लडेर मजदुरको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, भदौ १७ गते । छतबाट लडेर घाइते महिला मजदुरको शनिबार हेटौँडामा मृत्यु भएको छ । हेटौँडा–३, बसामाडीमा निर्माणाधीन घरमा काम गर्दै आउनुभएकी मजदुरको छतबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार मञ्जु लामाको निर्माणाधीन घरमा इट्टा बोक्नेक्रममा दिनको ३ बजेर ३० मिनेटको समयमा स्थानीय मजदुर ६० वर्षीया लक्ष्मी खड्का छतबाट खस्नुभएको थियो । 

छतबाट लडेर घाइते हुनुभएकी खड्काको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा शनिबार दिनको ४ बजेर ५० मिनेटमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

त्यस्तै, हेटौँडा–१५, संसारी पुलमुनि भेटिएका मानिसको मृत्यु भएको छ । भदौ ७ गते संसारी पुलमुनि भेटिनुभएका अन्दाजी ४५ वर्षीय पुरुषको परिचय समेत खुल्न सकेको छैन । 

बिरामी अवस्थामा फेला पर्नुभएका पुरुषलाई उपचारका लागि चितवन पठाएकोमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।