लाेकेन्द्र जाेशी
दार्चुला, भदौ १७ गते । दार्चुलामा डेङ्गु सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुस्थित राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो ।
जेलिनालाई केही दिन पहिले ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु सङ्क्रमण देखिएपछि उपचार गरिएको थियो । घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको थियो ।
पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको र शनिवार उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय मावि दत्तूका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो ।
छात्रा जेलिनाको मृत्यु भएपछि राष्ट्रिय मावि दत्तूले आइतबार एक दिन शाेक बिदासमेत गरेको उहाँले बताउनुभयो ।
दार्चुलामा सन् २०२३ सुरूभएयता अर्थात् पछिल्लो १० महिनाको अवधिमा १९० जना डेङ्गु सङ्क्रमित भएका छन् । चालू आर्थिक वर्ष सुरू भएयता साउनदेखि २१ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ कार्यालय दार्चुलाका वीरेन्द्र भट्टले जानकारी दिनुभयो ।
दार्चुला डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । हिमाली जिल्ला दार्चुलाको व्याँसमा पछिल्लो समय डेङ्गु सार्ने लामखुट्टे फेला परेको र उक्त लामखुट्टेबारे महेन्द्रनगरमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । केही वर्ष पहिलेसम्म तराईका जिल्लामा देखिने डेङ्गु सङ्क्रमण पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखापर्न थालेको छ ।