• १४ मंसिर २०८१, शुक्रबार

दुई महिनापछि खुल्यो कुइनेमङ्गले जोड्ने सडक

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १७ गते । अल्पसङ्ख्यक जाति छन्त्यालको बसोबास रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले जोड्ने सडक खुलेकाे छ । असारकाे पहिलो हप्ता बन्द भएको सडक हिजाेबाट खुलेको हाे ।

रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले क्षेत्रमा यस वर्ष आलु उत्पादन राम्रो भएको र त्यसको बजारीकरणका लागि कृषकले गाउँपालिकालाई सडक खुलाइदिन गरेको आग्रह गरेकाले पनि वर्षा कम हुनासाथ सडक खुलाइएको गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले बताउनुभयो । उहाँका अनुसार बेनी–राखु–दग्नाम–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक खुलेसँगै रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको नकालडाँडा, नामेला, वडा नं. ८ कुइनेमङ्गलेको कुइने, मङ्गले, घ्यासीखर्क, पात्लेखर्कलगायतका गाउँका बासिन्दाले प्रत्यक्ष लाभ पाउनेछन् ।

यस वर्ष यस क्षेत्रमा आलु उत्पादन राम्रो भएको भएको छ र आलु बजार पुगाउनका लागि सडक सुचारु हुनु आवश्यक रहेकोले कुइनेमङ्गले जोड्ने सडक सुचारु बनाइएको हो । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तर्गत चिमखोलाको मालाङमा गएको पहिरोले झण्डै दुई सय मिटर सडक बगाउँदा सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो । पहिरोले सडकमा ठूलो क्षति पु र्‍य ाएकाले वर्षा नरोकिँदा सडक मर्मत गर्न सकिएको थिएन, पहिरो वर्षा केही रोकिएपछि त्यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनासँगको समन्वयमा सडक सञ्चालन गरिएको हो ।

वर्षा कम भएपछि सडकलाई सुचारु गराउनका लागि रघुगङ्गा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका तीन वटा जलविद्युत् आयोजनासँग समन्वय गरेर उनीहरुको मेसिन प्रयोग गरी सवारी साधन आवतजावत गर्नका लागि अस्थायी रुपमा सडक सुचारु भएको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाइजा (रिम पाइजा)ले जानकारी दिनुभयो । 

“सडक अवरुद्ध हुँदा बिरामी परेका सर्वसाधारणलाई अस्पतालसम्म पु र्‍य ाउन पनि निकै सास्ती भएको थियो अब भने सहज भएको छ”, उहाँले भन्नुभयो । अहिले सडक पूर्ण रुपमा जोखिमरहित भन्दा पनि अस्थायी रुपमा सञ्चालन गरिएको हो जोखिम भने कायमै छ । त्यसैले कुनै पनि समय पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकहरुले सवारी सञ्चालन गर्दा एवम् यात्रा गर्दा उच्च सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । 

रघुगङ्गा गाउँपालिकाका इन्जिनियर सुदी गौतमका अनुसार चिमखोला र कुइनेमङ्गले क्षेत्रमा निर्माणाधीन तुदी पावर लिमिटेड प्रवर्द्धक रहेकोे राहुघाट मङ्गले, अपर राहुघाट र संयुक्त उर्जा प्रालीको ठुलोखोला जलविद्युत् आयोजनाका मेसिनहरुले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुई वटा डोजर परिचालन गरेर पहिरो हटाएपछि सडक सुचारु भएको हो ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमङ्गले क्षेत्रमा बोलेरो, जिप, ट्याक्टर, ट्रक लगायतका दर्जनाैं सवारी साधन रोकिएका थिए । सडक अवरुद्ध हुँदा कुइनेमङ्गलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट विच्छेद भएका थिए । स्थानीय स्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाहरुको निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो ।