रामकृष्ण बोहरा
बागलुङ, असार १७ गते । जिल्लाको ताराखोला गाउँपालिकामा १३ वटा ढुङ्गा उद्योग सञ्चालनमा आएका छन् । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा २ (क) अनुसार ढुङ्गागिटी, बालुवा, माटो, खरिढुङ्गा प्राकृतिक एवम् खानीजन्य वस्तु बिक्री निकासी शुल्क लिएर उद्योग सञ्चालन अनुमति दिएको छ ।
सोही ऐनको उपदफा २ (प) ७ मा ढुङ्गाखानी, बालुवा, स्लेटजस्ता खानीजन्य वस्तुको सर्भेक्षण, उत्खनन्, उपयोगको दर्ता, अनुमति दिने, नवीकरण गर्ने र व्यवस्थापन गर्ने अधिकार पनि स्थानीय तहलाई दिएकाले खानी सञ्चालन गर्न दिँदा ठुला सहरमा पनि ढुङ्गाको माग बढ्दै गएको गाउँपालिकका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।
ताराखोलाले उद्योग दर्ता नियमाबली समेत बनाएपछि ढुङ्गाको बिक्री बढेको हो । ‘‘हामीलाई २० रोपनीसम्मको नीजि जग्गाको ढुङ्गा उत्खनन गर्न उद्योगको रूपमा दर्ता गरिदिने अनुमति खानी विभागले दिएको छ,’’ अध्यक्ष विकले भन्नुभयो, ‘‘यो नियम र निर्देशिका टेकेर १३ उद्योग दर्ता भएर सञ्चालनमा आएका छन् ।’’
वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ढुङ्गा उद्योग सञ्चालन गर्न दिएको विकको भनाइ छ । सार्वजनिक जग्गाको खानी सञ्चालनका लागि भने सङ्घीय सरकारको अनुमति चाहिन्छ । प्रशासनले भने सङ्घीय कानुन देखाएर ती उद्योगलाई खानी भन्दै बेलाबेला अवरोध गर्ने उहाँले टिप्पणी गर्नुभयो । अधिकांशले उद्योगीहरूले आफ्नै खेतबारी र पाखोका ढुङ्गा काटेर बजारीकरण गर्दा स्थानीय तहमा राजस्व सङ्कलन बढेको छ ।
निकासीका लागि खानी उद्योगमा दर्ता हुनुपर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको दाबी छ । स्थानीय तहले बनाएको कानुनले अर्को पालिकामा निकासीमा बाधा आएको प्रशासनका एक अधिकारी बताउँछन् । ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाएको प्रहरी र प्रशासनले निकासीमा भने बखेडा झिक्दा सहजै बिक्री गर्न नसक्ने अवस्था रहेको उद्योग सञ्चालकहरूको गुनासो छ ।
घरको भित्तामा टाँस्ने र भुईं छाप्न ताराखोले ढुङ्गाको अत्याधिक माग छ । पछिल्लो समय विद्यालय, क्याम्पस र मठमन्दिर पुग्ने बाटाहरूमा पनि ताराखोले ढुङ्गा छाप्ने प्रचलन बढ्दै गएको छ । घरमा ढुङ्गा टाँस्ने काम रङभन्दा सस्तो र टिकाउ हुने प्रयोगकर्ता बताउँछन् । ताराखोलाबाट सहरी क्षेत्रमा प्रसस्त ढुङ्गा निकासी हुने गर्छ ।