• १७ असार २०८२, मङ्गलबार

बागलुङका किसान धान रोपाइँमा व्यस्त

blog

धान रोप्दै किसानहरु । तस्बिर : प्रदिप पन्त

प्रदिप पन्त
बागलुङ, असार १७ गते ।
बागलुङका किसान बर्खे धान रोपाइँमा व्यस्त भएका छन । किसानहरु बिहानदेखि साँझसम्म धान रोप्न खेतमा व्यस्त हुने गरेका छन् । जेठको अन्तिम हप्तादेखि सुरु भएको धान रोपाइँ साउनको दोस्रो हप्तासम्म हुने गर्दछ । सिँचाइ भएका गल्कोटको गैरीखेत, काँडेबास, निसी गाउँपालिकाको तल्लो क्षेत्रका स्थानमा जेठ महिना भित्र धान रोपाइँ सकिएको छ । 
प्रयाप्त सिँचाइ भएका क्षेत्रमा धान रोपाइँ सकिए पनि आकाशे पानीको भरमा हुने ढोरपाटन, काठेखोला, जैमिनी, बागलुङ नगरपालिका लगाएतका किसानले भने अहिले बल्ल रोप्न थालेका छन । आकाशबाट पानी परेपछि यस वर्षको धान रोपाइँ सुरु गर्न लागेको बागलुङ नगरपालिकाका किसान मिलन थापाले बताउनुभयो ।

“आकाशबाट पानी बल्ल पर्न थाल्यो,” थापाले भन्नुभयो, “सिँचाइ नहुदा मनसुनलाई कुर्नुको विकल्प छैन ।” नहुँदा मसनचैते धान र मकै लगाएको अधिकांश क्षेत्रमा किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् । जिल्लाको तल्लोभागमा दुई पटक धान खेती हुने गर्दछ । किसानलाई अहिले चैते धान भित्र्याउने समेत चटारो छ ।

अहिलेसम्म जिल्लामा २५ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका बागबानी अधिकृत सन्तोष अधिकारीले बताउनुभयो । “सिँचाइ नपुगेको स्थानमा किसानहरूले मुल फुटेपछि मात्रै रोपाइँ गर्ने गरेका छन,” अधिकारीले भन्नुभयो, “सबै स्थानमा साउन महिना भित्र रोपाइँ सकिने छ ।”

बागलङमा खेती योग्य जमिन ४५ हजार एक हेक्टर रहेकोमा ३० हजार पाँच सय ३० हेक्टरमा खेती हुँदै आएको छ । जिल्लामा ५७ सय ६ हेक्टरमा बर्खे र १० हेक्टरमा चैते धान खेती हुँदै आएको छ । यसमध्ये ६ हजार १४८ हेक्टरमा मात्रै सिँचाइको सहज पहुँच पुग्ने गरेको छ । खेतीयोग्य जमिनको २० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ ।

जिल्लामा विशेष गरी स्थानीय जातमा मसिनो गुडुरा, गोला, कनजिरा ,बिरमफुले, खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, युएस ३१२, जिटी ७०, बास्मतीलगायतका धान खेती हुँदै आएको छ । बागलुङको बलेवास्थित दम्का फाँट, गलकोट, मुलपानी, सिगाना र जैमिनी लगायतका क्षेत्रमा बढी मात्र धान खेती हुँदै आएको छ । बागलुङमा खाद्यबालीको रुपमा धान चौथो बालीको रुपमा लिने गरिएको छ ।