• ६ जेठ २०८१, आइतबार

म, बाटो, धरती र आकाश (कविता)

blog

म आफैँमा हराएँ बाटो बिराएर

बाटो स्वयम् हरायो मलाई देखाएर

धरती हरायो आकाशलाई हेरेर 

आकाश हरायो धरतीमा सुतेर ।

  

आकाशको पखेटा भए पो

उडेर कतै जान सक्छ

त्यसैले आफैँमा उदाङ्गिएर अल्झिएको छ ।


धरतीको खुट्टा भए पो

हिँडेर कतै पुग्न सक्छ

त्यसैले आफैँमा लमतन्न पसारिएको छ ।


म बाटो भए पो

अगाडि बढ्न सक्छु

त्यसैले खुम्चिएर एक्लै थन्किएको छु ।


बाटोको उद्देश्य भए पो

लक्ष्यमा पुग्न सक्छ

त्यसैले असामञ्जस्यमा एक्लै तन्किएको छ ।