• २८ वैशाख २०८१, शुक्रबार

हिंसापीडित महिलालाई नगरले सहयोग गर्ने

blog

हिंसापीडित महिला केसीदेवी यादवका विषयमा छलफल हुँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुव, भदौ १५ गते । सुनसरीको रामधुनी नगरपालिका –८ स्थित पौडेल चौकमा भदौ १२ गते ३५ वर्षीया केशीदेवी यादवमाथि सार्वजनिक बाटोमा निर्घात कुटपिट गरी घाइते भएकाले पीडितलाई नगरपालिकाले सहयोग गर्ने भएको छ । 

घटनाको यथार्थ बुझ्न पीडितको घरमा पुग्नुभएका रामधुनी नगरपालिका प्रमुख शङ्करलाल चौधरी र उपप्रमुख तारा थापाले पीडित महिलालाई तत्काल नगरपालिकाबाट सहयोग गर्ने वाचा गर्नुभएको हो । 

अमानवीय व्यवहार भएको भन्दै नगरपापिलकाको तर्फबाट निन्दा गर्दै पीडकलाई कार्वाही र पीडितलाई तत्काल खाद्यान्नसहित आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ । 

यादवमाथि रामधुनी नगरपालिका –८ पौडेल चौकका स्थानीय २८ वर्षीय सन्तोष साह र उहाँकी २९ वर्षीया ललिता साह, परिवारका सदस्यहरु २० वर्षीय निशान साह, ३६ वर्षीया हिरा साह र ५५ वर्षीया जलेश्वरीदेवी साहले आक्रमण गरेको थियो । 

पाँचै जनामाथि अभद्र व्यवहारमा जाहेरी दिनुभएको थियो । एक बालक रहेकाले निबेदनमा नाम राख्न प्रहरीले अस्वीकार गरेको बताइएको छ । दुई जनालाई पक्राउ गरेको र अनुसन्धान भइरहेको छ । चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

अधिकारकर्मीको चासो  

महिला पुनःस्थापन केन्द्र (ओरेक) सुनसरीका विमला घिमिरे, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सहजादी प्रवीण, उपाध्यक्ष सरस्वती केसी, अधिवक्ता कृष्ण दाहालसहितको टोलीले पीडितको घरमा पुगेर घटनाको जानकारी लिएको छ । 

टोलीमा रहेकाहरुले घटनाको यथार्थ बुझ्न, बारदातस्थल र पीडित पक्षसहित सरोकारवालासँग छलफल गर्दै जानकारी लिएको छ । पीडित महिलाको घरमा पुगेर पाएको जानकारीअनुसार घटनाबाट पीडित हुनुभएकी यादवको थप उपचार गर्न जिल्ला बाहिर लैजानुपर्ने अवस्था छ ।

यादवमाथि भदौ १२ गते सार्वजनिक बाटोमा साह परिवारले निर्घात कुटपिट गरेको सामाजिक सञ्जालमा तस्विर र भिडियो सार्वजनिक भएको थियो ।