• २९ वैशाख २०८२, सोमबार

दुई लाख बढीले गरे पाथीभराको दर्शन

blog

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न पुगेका भक्तजन । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १४ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०७९-८० मा उक्त सङ्ख्याले पाथीभराको दर्शन गरेका हुन् ।

पाथिभरा क्षेत्र विकास समितिका अनुसार गत आवमा कुल दुई लाख एक हजार ४४८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । सो वर्ष सबैभन्दा कम साउन महिनामा एक हजार ७९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए भने सबैभन्दा बढी वैशाख महिनामा ३५ हजार ६६४ जनाले दर्शन गरेका छन् ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार भदौ महिनामा आठ हजार ७५ जना, असोजमा २२ हजार ९६४, कात्तिकमा १७ हजार १७० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै, मङ्सिर महिनामा २३ हजार ३६६ जना, पुसमा छ हजार ५४ जना, माघमा पाँच हजार ८३७ र फागुनमा १८ हजार ६८६ जना, चैत्रमा ३० हजार ६१८, जेठमा २७ हजार २१७ र असार महिनामा तीन हजार ६०२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । 

पाथीभराको दर्शन गर्न पूर्वी नेपाल, सङ्घीय राजधानी काठमाडौँसहित पश्चिम नेपाल लगायतका स्वदेशी भक्तजनहरू आएका छन् । देश बाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतबाट भक्तजन मन्दिर पुगेका छन् । त्यस्तै, भेटी रकम चढाएको आधारमा अन्य अमेरिका, अस्ट्रेलिया, इङ्गल्यान्ड, दुबई, मलेसिया, साउदीसहित तीन दर्जन बढी देशमा भक्तजन आएर पाथीभराको दर्शन गरेको हुनसक्ने समितिले जनाएको छ ।