कसैको मनमा छपक्कै बस्नु र कसैलाई मनमा छपक्क बसाउन सक्नु नितान्त फरक कुरा हो । साहित्यकार गणेश रसिकले ‘छपक्कै मनमा बसेकाहरू’ नामक पुस्तकमा आफ्नो मनमा छपक्कै बसेकाहरूलाई चित्रित गरेका छन् । कृतिमा चार जना जीवित व्यक्तित्वका साथ १५ जना दिवङ्गत व्यक्तित्वहरूका बारे संस्मरण रहेको छ । सबै व्यक्तित्वका बारे चित्रण गर्दा कृतिकार रसिकले आपूmलाई केन्द्रमा राखी लेखन गरेका छन् । यसले गर्दा भनिने व्यक्तिका बारेमा भन्दा पनि आफ्नैबारे बढी भनिएको हो कि भन्ने भान पर्छ तापनि संस्मरण आत्मकेन्द्री हुने हुनाले आपूm केन्द्रमा रही आपूmसँग सान्निध्य रहेका र आफ्नो विगतको दिनचर्यामा सामीप्य हुन पुगेका व्यक्तिबारे चित्रण गरिने विधा हो । यसै अनुरूप प्रस्तुत कृति पनि देखिएको छ भनेमा फरक पर्दैन । यसैले यो कृति व्यक्ति–संस्मरणका बारे रोचक र मार्मिक गाथाको झलक हो भनेर पठन गरेमा झन् स्वादिलो लाग्ने कुरामा दुई मत छैन । हुन त पुस्तकका पछिल्ला केही लेखमा अन्यान्य व्यक्ति–व्यक्तित्वहरूलाई पनि प्रसङ्गमा उल्लेख गर्दै गणेश रसिकले आफ्नो मिठासपूर्ण लेखनमा ती सहृदयी व्यक्तित्वहरूका बारे चित्रण गरेका छन् । सरकारी सेवादेखि सङ्गीत तथा साहित्यलाई आत्मसात् गर्दासम्म कतिसँग जीवन ठोकियो, कतिसँग जीवन साटियो, कतिसँग जोडियो भनिसाध्य छैन । भोजपुर माझकिराँतमा जन्मेहुर्केका गणेश थुलुङ राई गणेश रसिकमा रूपान्तरण हुँदासम्मको यात्रामा कति जोडिए होलान् तर यसरी कसैको मनमा छपक्कै बस्न पाउनु पनि नितान्त अद्भुत वैयक्तिक उपलब्धि हो भन्ने पक्कै लाग्छ । रसिकले ‘दस गजामा उभिएर’, ‘आकाश गङ्गाको ओतमुनि’, ‘ताराभन्दा सपना धेरै’, ‘मनियाँ र उसको छोरो’ जस्ता अरू धेरै विशिष्ट कृतिहरू दिएर साहित्य आकाशलाई विराट् पारेका छन् ।
‘छपक्कै मनमा बसेकाहरू’ व्यक्ति–संस्मरण पुस्तकहरूमा पक्कै पनि नवीन प्रकारको मान्न सकिन्छ । उन्नाइस वटा छुट्टाछुट्टै शीर्षकमा उनले आफूसँग सान्निध्य रहँदाका मित्रहरू वा परिचित जनहरूका बारे भन्न नसकिएको वा भन्न मन लागेको कुरालाई विभिन्न शीर्षकहरूबाट व्यक्त गरेका छन् । ‘मानिसको जात मानिसभन्दा अर्को हुँदैन’ यस्तो महावाणीका प्रणेता नेपाली साहित्यका नाट्यसम्राट् बालकृष्ण समलाई समर्पित गरेर, ‘मैले भेटेको एउटा रत्न’ शीर्षकमा रसिकले समसँग जोडिएका धेरै प्रसङ्ग लेखेका छन् । सपनाको बिपनामा समेत तालमेल हुन्छ भनेर स्वीकार गरेका रसिकले २०३८ साल साउन ६ गतेको त्यो नमिठो दिन पनि सपनाको संयोग परेको थियो । त्यसैले यस्तो हृदयविदारक घटना सुन्नुप¥यो भनेर अर्थ लगाउँछन् । समको मृत्युमा दुखेसो गर्दै भन्छन्– “अब नेपालमा फेरि सम जस्ता विभूति जन्मन्छन् कि जन्मँदैन, किनकि उनी एक व्यक्तित्वभित्र थुप्रै प्रतिभा थिए, जुन सायद विश्वका विरलै प्रतिभाहरूमा होलान् । त्यति मात्र नभएर उनको एकनासको व्यवहार, आचरण, दिव्य मुहार कहिल्यै बिर्सिनसक्नु थियो ।” समकै भनाइ सापटी लिएर अझ थप्छन्– “एउटा नियमित आकस्मिकता थियो उनको मृत्यु ।” त्यसै गरी सन्ताउन्न वर्षअघि भारतको आसामबाट लाहुरेको जागिर छोडेर आफ्नो पुख्र्याैली माटोमा आफ्नो बाँकी जीवन व्यतीत गर्छु भनेर देश फर्केका जाँगरिला देशभक्त साहित्यकार केशवराज जोशीका बारेमा ‘देश खोज्दै एउटा लाहुरेमा’ लेखेका छन् । तत्कालीन राणाको एकतन्त्रीय शासनको हुकुममा भारतका नागाहरूसँग लडाइँ गर्न रिव्रmुटेमा भर्ना गरी आसाम पु¥याइएका लाहुरे नारद ज्ञवालीका नाति रहेछन् केशवराज जोशी ।
अमेरिकाको शिक्षा लिएका जोशी अन्ततः ब्रिटिस सरकारको आदेशमा बाध्यतावश गोरखा सिपाही पनि बने । यो संसारबाट बिदा लिनुअघि आफ्नो अनुभव संसारलाई नै छोडेर जानु पर्छ भन्ने भावले उनी लेखिरहन्थे– रसिक भन्छन् । उनको देशभक्ति र जीवनको आशा सबैलाई प्रभावित पार्ने खालको छ भनेर जानकारी दिइएको छ पुस्तकमा ।
लगभग डेढ सय गीतमा सङ्गीत भरेका, करिब दुई सय गीतमा स्वर दिइसकेका यस्ता विशिष्ट सर्जक तर आफूलाई भने जहिले सामान्य मान्छेका रूपमा प्रस्तुत गर्छन् र भन्ने गर्छन्– “म त दुर्गम गाउँको तुरतुरे पँधेरोसम्म हुँ ।” उनले नेपाली सङ्गीतका सुप्रसिद्ध सङ्गीतकार नातिकाजीलाई सम्झँदै ‘नेपाली सङ्गीतका सप्तकोशी’ शीर्षकको आलेखमा उनका बारेमा धेरै कुरा भनेका छन् । कसरी चिनजान भयो, कसरी रेडियो नेपालमा गीत गाउनलाई नातिकाजीले प्रोत्साहन गरे र जब भ्रमको पर्दा उघ्रियो अनि नातिकाजी हो भनेर चिनियो तब ‘दाइ’ सम्बोधन नै भावनात्मक रूपमा रसिकको आत्मासँग जोडिन पुग्यो । सङ्गीतका अमर साधक नातिकाजीसँग रसिकका यस्ता धेरै मन छुने प्रसङ्गको आरोह अवरोह पठन गर्दा त्यही विगतमा पुगिन्छ, जहाँ पाठकले धेरै कुराको रोचक तथ्य पाउँछन् ।
‘नौ लाख ताराको एउटै जून’मा दार्जिलिङका स्वाभिमानी नेपाली अगमसिंह गिरीलाई रसिकले मनमस्तिष्कमै छपक्क उतारेका छन् । तत्समयमा लेकालीहरूले देख्ने गरेको दार्जिलिङका वीर गोरखाली अनुहारमा कुनै रौनकता हुँदैनथ्यो । चायापोतोले कालो पारेको, निराशाले पहेँलिएको अनुहार नै हुन्थ्यो प्रायः । २०२७ साल मङ्सिर महिनाको जाडोमा त्यस्तै अनुहारमा विम्बित अगमसिंह गिरीको चित्र राष्ट्रिय नाचघरको अगाडि देख्दा रसिक छक्कै पर्छन् । नेपाली भाषालाई माया गर्ने साहित्यकारलाई नेपालको प्रशासनिक झन्झटले निरुत्साहित परेर मन दुखाइदिएको र त्यो निरास अनुहार देखेर स्वयं रसिक दुःखी भएको मार्मिक प्रसङ्गले पाठकको मन पनि सन्न पारिदिन्छ ।
वास्तवमा कोही कसैसँग यस्तरी नाता जोडिन्छ कि ऊ आफ्नै रगतको साइनो हुन पर्दैन । शरद्चन्द्र शर्मा रसिकका अलिक परको भिनाजु हुन् तर उनीसँग यसरी गाँसिन पुगे कि उनैलाई स्कुलको प्रधानाध्यापकबाट निकाल्न आन्दोलनमा अन्जानमा होमिएपछि थाहा पाएर अपराधबोधले फत्रकै गले तर जब शरद्चन्द्र शर्मालाई भोजपुरको जागिर छोड्न परेर काठमाडौँ आउनुप-यो, त्यसपछिका दिनहरू पो झन् उनका लागि सुखद रहे । उनले स्कुल, कलेजका नेपाली, भूगोल, सामाजिक शिक्षा आदि विषयका १२ वटा पाठ्यपुस्तक प्रकाशनमा ल्याए, १६ वटा अनुसन्धान जीवनी र समालोचना कृतिहरू प्रकाशित गरे ।
त्यस्तै थुप्रै कृतिहरू सम्पादन गरे । पुरस्कार सम्मान त्यस्तै कति हो कति । पछिल्लो समयमा यो परिवारसँग रसिकको एकदम आत्मीय बढ्यो र काठमाडौँमा रहँदा–बस्दा बाक्लै पारिवारिक भेटघाट हुन थाल्यो । जसले गर्दा एउटा नाम हृदयको एउटा कुनामा अमर छाप बनेर बस्यो र छपक्कै लिपिबद्ध पनि भयो ।
यसरी जानेहरू कहिल्यै फर्किंदैनन्, फर्किन्छन् त केवल शोकाकुल परिवार, आफन्तजन र शुभचिन्तकहरू र थुप्रै थुप्रै यादहरू । यहाँ रसिकले तिम्रो माया मार्न सकिनँ भन्दै यादका निबहरूले हृदयको मसीमा चोबेर चर्चित गायक फत्तेमानलाई मनमा छपक्क उतारेका छन् । उनी फर्केर त आउने छैनन् तर रसिकले आफ्ना शब्दहरूको शक्तिमा सदैव जीवित राखेका छन् । अब कहिले मर्ने छैनन् फत्तेमान रसिकको मनमा छपक्कै बसेर । हामी पाठकको प्रत्येक पढाइमा झनै उनको आयु थपिँदै जाने छ ।
‘बिसौँ शताब्दीको गीत’ शीर्षक दिएर लेखिएको लेखमा रसिक लेख्छन्– प्रसिद्ध अमर साहित्यकार वासु शशीका बारेमा सम्झनाका पुञ्जहरू, जहाँ सबै पाठकले थाहा पाउने छन् वासु शशीको सम्मोहित व्यक्तित्व । वास्तवमा साहित्यकारहरू आत्मकेन्द्रित र अन्तर्मुखी हुन्छन् भन्ने कुरालाई गलत साबित गराउने कवि थिए वासु शशी । उनको घरमा पुरुष मित्रहरूको मात्र हैन, महिला मित्रहरूको पनि त्यतिकै जमघट हुने गथ्र्याे । वासु शशी दम्पतीकै हार्दिकताले त्यो सम्भव भएको बताउँछन् रसिक । युद्धको विरुद्ध शान्तिको कामना गर्दै लेखिएको कविता थियो वासु शशीको ‘बिसौँ शताब्दीको गीत’ र यसैलाई केन्द्रबिन्दुमा
राखेर लेख्छन् रसिक– “तर अझै कति समयसम्म लेखिरहन लगाउँछ समयले यो गीत हामीलाई, भयले छोडेको छैन ।”
ताल, लय, सुर र शब्दको गहिराइमा डुबेर श्रोताको ढुकढुकीमा बस्ने गीतकार, सङ्गीतकार तथा गायक बच्चुकैलाशबहादुर बस्नेत अर्थात् बच्चुकैलाश पनि रसिकको मनमा छपकै बसेका छन् ।
दर्जनौँ चर्चित गीत गाएर गीतको फाँटमा समेत आफ्नो नाम स्थापित गराउन सफल गायक रसिकलाई अभिभाकत्व प्रदान गर्दै २०५८ सालमा सम्पन्न भएको उनको एकल साँझ ‘अन्तराल’ मा बच्चुकैलाशको उपस्थितिलाई गौरवका साथ सम्झन्छन् ।
यसरी नै रसिकका मनमा छपक्कै बसेर उनलाई लेख्न अभिप्रेरित गर्ने नामहरू हुन् दार्जिलिङकी बौद्धिक सङ्गीतकार तथा गायिका शान्ति ठटाल, नृत्य जगत्का जिउँदो इतिहास नृत्य निर्देशक भैरवबहादुर थापा, कालजयी गीतका सिर्जनाकार, सङ्गीतकार तथा गायक जितेन्द्र बर्देवा, साहित्यकार तथा सङ्गीतकार हिरण्य भोजपुरे, १०० भन्दा बढी नाटकका नायक अर्थात् कलाकार रवि शाह, सुप्रसिद्ध गायिका तारादेवी, पाँचथर रविगाउँमा जन्मेका कवि कृष्णभूषण बल, सिर्जनशील लेखक शशि भण्डारी, गायिका कमला श्रेष्ठ, किशोर अवस्थामै स्थापित नाम, एक कुशल सङ्गीतकार गीतकार तथा गायक दार्जिलिङका दिव्य खालिङलगायत सङ्गीतकार रामेश र गीतकार तथा साहित्यकार मञ्जुल ।
यी व्यक्तित्वहरूले रसिकको जीवनमा धेरै नै प्रभाव जमाएका छन्, जसलाई चाहेर पनि रसिक भुल्न सक्दैनन् । ‘छपक्कै मनमा बसेकाहरू’ कृतिको आद्योपान्त पठनपछि पाठकलाई निश्चय पनि लाग्ने छ, नेपाली सिर्जनाको क्षेत्रमा ती व्यक्तिहरूको महìवपूर्ण विशेषता र उपस्थिति पछिसम्म पनि स्मरणीय रहने छ । यसैले यो कृतिकार गणेश रसिकको सबल लेखनको सुपरिणाम हो भन्नमा आनाकान गर्नै पर्दैन ।