सिराज खान
नेपालगन्ज, कात्तिक ७ गते । बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा वर्षौदेखि ज्यान जोखिममा हालेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् ।
राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले पनि तीन पािलकाका स्थानीयले डुङ्गाको प्रयोग गर्ने गरेका हुन् ।
राप्तीसोनारी ७ का ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि वर्षौदेखि माग गर्दै आएकोमा आश्वासन बाहेक हालसम्म केही पनि नपाएको दुखेसो गर्नुभयो । उहाँले वर्षाको बेला बाढीका कारण पटक–पटक डुङ्गा दुर्घटना भई धेरै स्थानीयले ज्यान गुमाए पनि हालसम्म सरकारको ध्यान नगएकोमा चिन्ता प्रकट गर्नुभयो ।
पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरी डुङ्गा दुर्घटना भएको थियो । करिब एक सयजना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको उहाँले स्मरण गर्नुभयो ।
राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा तत्कालै पुल निर्माणको प्रक्रिया अगाडि बढाउन स्थानीय बासिन्दाले सरकारलाई फेरि गुहारेका छन् ।
नरैनापुर ५ का सन्जय दिक्षितले विगतमा नेता र मन्त्रीहरुले आश्वासन मात्रै दिए तर अहिले देशमा भएको परिवर्तनका कारण स्थानीयमा पुल बन्ने आशा पलाएकाले फेरि मागलाई उठाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पारि खेतबारी, वारि घर, बिचमा विशाल राप्ती नदी छ । वर्षामा उर्लेर आउने राप्ती पार गर्न सानो डुङ्गा बाहेक कुनै विकल्प छैन, त्यसैले ज्यान जोखिममा हालेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छौं ।”
राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका धेरै बासिन्दाको खेत नदी पारी रहेको छ । खेत नदी पारी भएकाले पनि नदी पार गर्नै पर्ने बाध्यता रहेको खल्ला झगडियाका अरुण यादवले बताउनुभयो । उहाँले तटीय बस्तीका बासिन्दाको सुरक्षित यात्राप्रति सरकारले चासो नदिएको गुनासो गर्दै यस क्षेत्रका जनताले कहिलेसम्म यो दुःख पाइरहने हुन् केही भन्न नसकिने बताउनुभयो ।
नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित तीन वटा घाट छन् । जहाँ वारपार गर्न सानो डुङ्गा राखिएका छन् । १० वर्षदेखि डुङ्गा चलाउँदै आउनु भएका माझी गुड्डु मल्लाहले नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा धेरै पटक जीवन जोखिममा परेको स्मरण गर्नुभयो । उहाँले नदी वारपारको यो यात्रा अत्यधिक जोखिमपूर्ण रहेकोले छिटोभन्दा छिटो पुल निर्माण अपरिहार्य भएको बताउनुभयो ।