अमरराज नहर्की
तनहुँ, कात्तिक ७ गते । तिहार सकिँदा तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिलाको अनुहारमा प्रसन्नता झल्किएको छ । उनीहरूले यस वर्षको तिहारमा सयपत्री फूल बेचेर करिब सात लाख रुपियाँ आम्दानी गरेका छन् ।
गाउँका ४५ जना महिलाले संयुक्त रूपमा गरेको फूलखेतीले अहिले गाउँकै आर्थिक स्वरूप परिवर्तन गर्न थालेको छ । तिहारका लागि तयार पारिएका सयपत्री फूलका माला दमौली, आँबुखैरेनी, डुम्रे लगायतका बजारमा मात्र होइन, पोखरा र काठमाडौँसम्म पुगेर बिक्री भएका छन् ।
“यस वर्ष अधिकांश फूल बारिमै आएर व्यापारीहरूले खरिद गरेर लगेका हुन्,” यान्चोक आमा समूहकी सदस्य सावित्रा थापाले बताउनुभयो । उहाँका अनुसार फूल नपुग्ने डरले व्यापारीहरू अग्रिमै गाउँमै आइपुगेका थिए ।
गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालका अनुसार गाउँपालिकाले फूलखेतीलाई आत्मनिर्भर व्यवसायका रूपमा विस्तार गर्न प्रोत्साहन गरिरहेको छ । अर्यालले भन्नुभयो, “महिला किसानको उत्पादन बजारसम्म पु¥याउने र आत्मनिर्भर बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको छ । यसले महिला सशक्तिकरणसँगै स्थानीय उत्पादन प्रवर्धनमा पनि ठुलो योगदान दिएको छ ।”
कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार यान्चोकका महिलाले तीन वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका छन् । “आगामी वर्षदेखि यसलाई देश–विदेशमा निर्यात गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । आमा समूहकी अध्यक्ष सुनिता थापाका अनुसार, यो वर्ष मूल्य राम्रो पाएकोले महिलामा थप हौसला आएको छ । गत वर्ष प्रतिकिलो फूलको मूल्य तीन सय रुपियाँ भए पनि यस वर्ष ३७५ रुपियाँ पुगेको छ ।
त्यस्तै, मखमली र सयपत्रीका माला पनि गत वर्षको तुलनामा २५ रुपियाँसम्म बढी मूल्यमा बिक्री भएका छन् । फूल टिप्न, माला उन्न र बजार पठाउन महिलाहरूलाई भ्याइनभ्याइ भएको थियो । समुहकी सदस्य सिता थापाले भन्नुभयो, “हाम्रो परिश्रमको राम्रो मूल्य पाएका छौं, यसले अर्को वर्ष फूलखेती अझ बढाउने हौसला दिएको छ ।”
यसैगरी, कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनी बजारमा छिम्केश्वरी र बुढीमाई मन्दिरको संरक्षण र विकासका लागि हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला बुकिङ गरिसकेकाले फूल टिप्न र माला बनाउने भ्याइनभ्याई भएको समूहले जनाएको छ । महायज्ञमा वाचन प्रविण पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्ने कार्यक्रम छ ।