• २८ वैशाख २०८१, शुक्रबार

ज्ञानेन्द्रको अवकाश

blog

साउन १९ गते दिउँसो २ बजे नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलन गरे। त्यसको चार घण्टापछि उनी बेलायत उड्दै थिए। ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका थिए। त्योबीचको समयमा उनले आफ्ना प्रशंसक र क्रिकेटप्रेमीलाई ‘सरप्राइज’ दिए। 

३३ वर्षीय ज्ञानेन्द्रले अचानक अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट अवकाश लिएको घोषणा गरे। १८ वर्ष देशका लागि खेलेका खेलाडीले बहुप्रतिक्षित एसिया कप (जहाँ नेपालले पहिलो पटक खेल्दै थियो, भारत र पाकिस्तानसँग नेपालले पहिलो पटक खेल्ने थियो) सुरु हुन एक महिना बाँकी छँदा क्रिकेटको सबै खाले संरचनाबाट सन्न्यास लिए। 

उनका लागि यो घोषणा सहज थिएन। तैपनि उनी यस निर्णयमा पुगे। उनको सबैभन्दा चोटिलो कुरा त के थियो भने उनले आफ्नो मूल्याङ्कन आफैँले गरे र अवकाश लिए। उनले भने, “अहिले राष्ट्रिय टोलीका लागि जुन खालको योगदान दिनुपर्ने थियो त्यो मैले दिन सक्दिनँ भने त्यहाँ रहिरहनु पर्छ भन्ने लाग्दैन। त्यसैले मैले यस्तो निर्णय लिएको हुँ।”

यति ठूलो निर्णय लिन पक्कै दरिलो मुटु चाहिन्छ। पछिल्लो समय उनले टिममा अवसरसमेत पाएका थिएनन्। युवा खेलाडीको बाहुल्यता रहेको राष्ट्रिय टिममा उनी सबैभन्दा पाका थिए। धेरैले उनीबाटै प्रेरणा पाए तर जब उनीभन्दा युवा अगाडि बढे स्वाभाविक रूपमा उनले बाटो छाडे। 

उनले एक व्यवस्थापकको हिसाबले नै सोचे। किनकि उनी लामो समय नेतृत्वकै वरिपरि रहे। सन् २००५ मा उनी यु–१५ टोलीको सदस्य भए। ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसिसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा पदार्पण गरेका थिए।  

त्यसपछि उनी यु–१७ र यु–१९ सँगै एक दिवसीय खेलको नेतृत्वसमेत सम्हाल्न पुगे। उनले १० वर्षसम्म त राष्ट्रिय सिनियर टिमको उपकप्तान रहेर खेलेका थिए। सन् २००९ मा युएईमा भएको एसिसी टी–२० अगाडि पारस खड्कालाई कप्तान र ज्ञानेन्द्रलाई उपकप्तान बनाइएको थियो। पारसले सन् २०१९ मा नेतृत्व त्यागेपछि ज्ञानेन्द्रले थप दुई वर्ष नेपाली टिमको नेतृत्व गरे। खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विवादबारे सञ्चारमाध्यममा बोलेका कारण नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो। 

जसले देशका लागि क्रिकेट खेल्यो उसले खेलाडीको हकहितमा के बोलेको थियो नेतृत्वबाटै हटाइयो। त्यसयता ज्ञानेन्द्रको प्रदर्शन खस्किँदै गयो। सम्भवतः उनलाई मानसिक दबाब परेको हुन सक्छ। सन् २०२२ को मार्चमा युएई र पपुवा न्युगिनीविरुद्धको विश्वकप लिग–२ मा खेलपछि ज्ञानेन्द्रलाई नेपाली टोलीबाट हटाइएको थियो तर त्यही वर्षको अगस्टमा केन्या जान उनी राष्ट्रिय टोलीमा फर्किए। 

उनले नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा कुल ४५ खेल खेलेर एक शतक र दुई अर्धशतकसहित ८८३ रन बनाएका छन्। टी–२० मा उनीभन्दा बढी रन बनाउने नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी मात्र हुन्। ऐरीले एक हजार १०३ रन बनाएका छन्। 

ज्ञानेन्द्रले खेलमा ओपनिङ बढी गरे। उनले अन्य डिभिजनमा शतक बनाए पनि एक दिवसीय खेलमा भने शतक बनाउन सकेनन्। उनले ३५ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। ज्ञानेन्द्रको अन्तिम एक दिवसीय खेल गत जुलाई ४ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोटको प्लेअफ थियो। त्यो खेलमा उनले सात रन बनाएका थिए। उनले एक दिवसीय खेलमा सात अर्धशतक बनाए र उनको सर्वाधिक स्कोर ७५ रन रह्यो। 

उनी नेपाली क्रिकेटका सौम्य पनि खेलाडी हुन्, विवादरहित कप्तान हुन्। उनले अहिलेको युवा पुस्तालाई क्रिकेट सिकाए पनि। राष्ट्रिय टिमका सबै खेलाडी ‘ज्ञानेन्द्र दाइ’ नै भन्छन्। ज्ञानेन्द्रको ब्याटिङ हेरेरै अहिलेको टिमका कतिपय खेलाडी खेलिरहेका छन्। 

नेपालले डिभिजन–५ देखि विश्वकप छनोटको अन्तिम चरणसम्मको यात्रा गर्दाका एक मात्र साक्षी ज्ञानेन्द्रको बहिर्गमन भने त्यति उत्साहजनक रहेन। उनलाई हालका प्रशिक्षक मोन्टी देसाईले कहिले टिममा राखे, कहिले राखेनन्। अर्को अर्थमा ज्ञानेन्द्र आफू स्वयं पनि फर्ममा देखिएनन्। 

जे भए पनि उनले निरन्तर टिमका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे। नेपालले पहिलो पटक खेल्न लागेको एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेलेर अवकाश लिएको भए उनको अझ बढी स्मरणीय बिदाइ हुन्थ्यो। 

अवकाश घोषणा गर्दा भावुक देखिएका ज्ञानेन्द्रले भने, “यो मेरो बिदाइ होइन यात्राको नयाँ थालनी हो। एउटा यस्तो यात्रा जहाँबाट म खेलकुदको कट्टर समर्थक, यसको विकासको साक्षी र मलाई माया गर्ने अनि देशको झन्डा उच्च रहेको हेरेर बस्ने छु।”    

Author

सोमराज पोखरेल