• २२ वैशाख २०८१, शनिबार

सरकारी फार्मेसीमा मनपरी शुल्क

blog

शशिधर पराजुली

विराटनगर, भदौ १३ गते । स्वास्थ्य बिमा अन्तर्गतको औषधी खरिद गर्दा बिरामीहरू ठगिने गरेको पाइएको छ । बिरामीलाई बिमाबाट औषधी उपलब्ध गराउँदा बजार मूल्यभन्दा चार गुणा बढीसम्म रकम लिइएको हो । 

स्वास्थ्य बिमा बोर्डले एक हजार एक सयभन्दा धेरै औषधी सूचीकृत गरी स्वास्थ्य बिमा सेवा अन्तर्गत बिरामीलाई उपलब्ध गराउँदै आएको छ । त्यसरी उपलब्ध गराउने कतिपय औषधीको बजार मूल्य र बिमा मार्फत भुक्तानी हुने मूल्यमा ठुलो अन्तर भेटिएपछि सर्वसाधारण ठगीमा परिरहेका खुलेको हो । 

केही दिनअघि कोशी अस्पतालमा उपचारका लागि गएका एक जना बिरामीबाट अस्पतालकै फार्मेसीले दुई हजार तीन सय रुपियाँमा पाइने औषधी बिमा सुविधाबाट बिक्री गर्दा १० हजार रुपियाँभन्दा बढी लिएको भेटिएको थियो । स्वास्थ्य उपचारका लागि कोशी अस्पतालमा भर्ना हुनुभएका तेह्रथुम जिल्लाका एक जना शिक्षकले अस्पतालको फार्मेसीबाट खरिद गरेको औषधी बजार मूल्यभन्दा निकै महँगो भएपछि त्यस विषयमा सोधखोज गर्दा सर्वसाधारण ठगीमा परिरहेको खुलेको थियो । 

क्यान्सर रोगको उपचार गराइरहनुभएका शिक्षकले विराटनगरको रङ्गेली रोडमा रहेको शान्ति फार्मेसी एन्ड एडभान्स डेन्टल केयरबाट साउन ९ गते जालोप्लट (सय मिलिग्राम) नामक इन्जेक्सन प्रतिगोटा छ हजार ९६० रुपियाँका दरले किनेर प्रयोग गर्नुभएको थियो । त्यसको ठिक एक महिनापछि उहाँलाई पुनः सोही औषधी आवश्यक प-यो । कोशी अस्पतालमा भर्ना भएर स्वास्थ्य बिमा सुविधा उपयोग गर्ने क्रममा भदौ ५ गते उहाँले अस्पतालको फार्मेसीबाट उक्त इन्जेक्सन खरिद गर्नुभयो । फार्मेसीले बिमितको खाताबाट दुई थान इन्जेक्सनको २० हजार ५९० रुपियाँको बिल दियो । फार्मेसीले उक्त इन्जेक्सन १० हजार २९५ रुपियाँका दरले बिक्री गरेको थियो । 

बाहिरको फार्मेसीमा एक महिनाअघि तिरेको मूल्यभन्दा धेरै नै बढी रकम अस्पतालको फार्मेसीले लिएपछि उहाँले औषधीमा ठगी भएको आशङ्का लागेपछि लगतै थप दुई थान इन्जेक्सन नगदमा खरिद गर्न सोही फार्मेसीमा पठाउनुभएको थियो । फार्मेसीले उक्त इन्जेक्सन दुई हजार १९६ रुपियाँका दरले उपलब्ध गरायो । उहाँले दुई थान जालोप्लट (सय एमजी) का लागि चार हजार ३९२ रुपियाँ भुक्तानी गर्नुभयो । क्यान्सरका बिरामीको जीवनदायिनी औषधीमा व्यापक घोटाला भइरहेको महसुस गरेर उहाँले अस्पताल प्रशासनलाई त्यस बारेमा जानकारीसमेत गराउनुभएको थियो । 

अस्पतालको फार्मेसीले स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको मूल्य अनुसार नै उक्त औषधीको बिल काटेको प्रष्टीकरण दिएको छ । स्वास्थ्य बिमा बोर्डले बिमितलाई उपलब्ध गराउन सूचीकृत गरेको औषधीको मूल्य पनि निर्धारण गरेको छ । त्यसमा जालोप्लट (सय एमजी) को मूल्य १० हजार २९५ नै सूचीकृत भएको फार्मेसीले दाबी गरेको छ । 

कोशी अस्पतालको फार्मेसी सञ्चालक रञ्जन साहले स्वास्थ्य बिमा बोर्डमा औषधी आपूर्ति गर्न आपूर्तिकर्ताले प्रस्ताव गरेको मूल्य बोलपत्रमार्फत सम्झौता भएका कारण उक्त मूल्य सूचीकृत भएको हुनसक्ने जानकारी दिनुभयो । स्वास्थ्य बिमा सुविधामा देशभरका सबै अस्पतालका फार्मेसीहरूले यो इन्जेक्सनको एउटै मूल्य लिने उहाँले बताउनुभयो तर बजारमा औषधीको मूल्य फेरबदल भइरहने भएकाले नगदमा बिक्री गर्दा भने खरिद मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “बिमा सुविधामा खरिद गर्ने औषधीको छुट्टै मूल्य राखिएको हुन्छ, बजारमा मूल्य तलमाथि भइरहन्छ तर स्वास्थ्य बिमा बोर्डले २०७४ देखि एउटै मूल्य चलाइरहेको छ फेरबदल गरेको छैन, त्यसैले पनि केही फरक परेको हुनसक्छ,” साहले भन्नुभयो ।

तर एउटै फार्मेसीले नगदमा बिक्रि गरेको र बिमाबाट भुक्तानी लिएको औषधीको मूल्यमा चार गुणा फरक पर्नु स्वाभाविक देखिँदैन । फार्मेसी सञ्चालक साहले यो औषधीमा मात्र नभएर अरू थुप्रै औषधीमा यस प्रकारको मूल्यान्तर हुने गरेको जानकारी दिनुभयो । यद्यपि अहिलेसम्म यो इन्जेक्सनमा बाहेक अरूमा गुनासो नआएको उहाँले बताउनुभयो । 

स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले सूचीकृत औषधीमा बोर्डले नै मूल्य निर्धारण गरेको र फार्मेसीहरूले तोकिएभन्दा बढी मूल्य लिन नमिल्ने बताउनुभयो । उहाँले कोशी अस्पतालको फार्मेसीबाट बिक्री भएको जालोप्लट नामक इन्जेक्सनको मूल्यमा त्यति धेरै फरक पर्नु स्वाभाविक नदेखिएको र त्यस्तो हुनै नसक्ने प्रतिक्रिया दिनुभयो । यद्यपि उक्त औषधीका बिल उपलब्ध भए त्यस विषयमा अनुसन्धान गर्ने उहाँले बताउनभुयो ।