• २५ वैशाख २०८१, मङ्गलबार

‘अकेली’ नारीको सङ्घर्षको कथा

blog

काठमाडौँ, भदौ १३ गते । सहज र स्तरीय जीवनयापनको खोजीमा मानिस आफ्नो थाकथलो छोडेर हिँड्न तयार हुन्छ । आफ्नै देशमा कुनै सम्भावना रहेन भने उज्ज्वल भविष्यको सपना देख्दै उसको पाइला विदेशतिर नै लम्कन्छ । कम विकसित देशका मानिसको यस्तो बाध्यता अझै बढी हुन्छ । अझ देशभित्रै युद्ध चलिरहेको छ भने त आयआर्जनको मात्र पनि सवाल रहँदैन जिउज्यानकै सुरक्षाका लागि पनि बाहिरिनु उसको नियति बन्छ । यस्तै जीवन सङ्घर्षलाई चलचित्र ‘अकेली’ मा देखाउन खोजिएको छ । 

चलचित्रको कथा पन्जाबकी केटी ज्योति (नुसरत भरुचा) को वरिपरि घुमेको छ । उनी आफ्नो परिवारको अवस्था सुधार्न  विदेश जाने जोखिमपूर्ण निर्णय लिन्छिन् । उनले इराकको भिसा पनि पाउँछिन् । चलचित्रमा ट्राभल एजेन्टहरूले कसरी मानिसहरूलाई बहकाउँछन् र धेरै मानिस तिनीहरूको जालमा फसेका छन् भन्ने कुरा पनि देखाइएको छ । यसरी नै ज्योति पनि इराक पुग्छिन् । यस क्रममा इस्लामिक राष्ट्रले इराकमा आक्रमण गर्छ र त्यसपछि विनाश, लुटपाट, हत्या र अराजकताको वातावरण सिर्जना हुन्छ । यी सबै समस्या पार गर्दै, ज्योति र अन्य धेरै महिला आइएसआईको बन्धक बन्छन् । यस्तोमा पनि नडराई दुःखको सामना गर्छिन् । चलचित्रमा ज्योतिले आफ्नो देश फर्कन के कस्तो सङ्घर्ष गर्छिन् भन्ने कुरालाई कथामा पस्कन खोजिएको छ । के उनी आइएसआईको फन्दाबाट बाहिर निस्केर आफ्नो घर फर्कन सक्षम हुन्छिन् ? यी सबै प्रश्नको जवाफ चलचित्रभित्र छ । 

चलचित्रमा मुख्य भूमिकामा देखिनुभएकी नुसरत भरुचाको काँधमा निर्भर छ । उहाँको अभिनय हेर्दा दर्शकलाई अभिनय मात्र हो कि साच्चैको भूमिकामा हो अनुमान लगाउनै मुस्किल पर्छ । उहाँको भूमिकाले दर्शकलाई चलचित्रमा सुरुदेखि नै बाँधेर राख्छ । चलचित्रलाई यथार्थमा ल्याउनका लागि अन्य कलाकारको  लगनशीलताको पनि उत्तिकै प्रशंसायोग्य छ । इजरायली कलाकार साही हलेवीले चलचित्रमा आफ्नो अभिनयले विशेष प्रभावित पार्नुहुन्छ । उहाँले व्यक्तित्व र अनुहारको हाउभाउले चरित्रमा जीवन्तता ल्याउनुभएको छ । त्यस्तै राजेश जैश एक उत्कृष्ट चरित्र अभिनेता हुनुहुन्छ जो पूर्ण रूपमा आफ्नो चरित्रमा डुब्नुभएको छ । निशान्त धैयाले पनि राम्रो अभिनय गर्नुभएको छ । 

प्रणय मेश्राम, गुन्जन सक्सेना र आयुष तिवारीले लेख्नुभएको चलचित्र प्रणय मेश्रामको डेब्यु निर्देशन हो । पहिलो चलचित्रमा नै उहाँले आफ्नो निर्देशकीय पक्षलाई सफल प्रमाणित गर्न सक्नुभएको छ । उहाँले नुसरत भरुचाको अभिनय क्षमतालाई चलचित्रमा राम्रोसँग प्रयोग गर्नुभएको छ । सन् २०१४ को पृष्ठभूमिमा आधारित चलचित्र बनाउन उहाँले कतै पनि सम्झौता गर्नुभएको छैन । उहाँले आइएसआईको योजनालाई चलचित्रमा निकै उत्कृष्ट ढङ्गले देखाउन सफल हुनुभएको छ ।  प्राविधिक पक्षको कुरा गर्ने हो भने पटकथा कतै पनि कमजोर छैन र सम्पादनको काम पनि उत्कृष्ट ढङ्गले गरिएको छ । चलचित्र अनावश्यक रूपमा कतै तानिएको भान हुन दिएको छैन ।