• २२ वैशाख २०८१, शनिबार

बाढीले बगायो पुल

blog

गोरखापत्र समाचारदाता 

सोलुखुम्बु, भदौ १२ गते । सोलुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिका जोड्ने मोटरेबल पुल बर्सातको बाढीले बगाउँदा स्थानीय नागरिकको जिल्ला सदरमुकामलगायत सबै बजारसँगको सम्बन्धविच्छेद भएको छ । बिरामीलाई अस्पतालसम्म पु-याउन नसक्दा बिरामी, सुत्केरी, वृद्ववृद्वालगायत असक्त नागरिकको उपचारको अभावमा स्वास्थ्य जोखिम अवस्थामा पुग्दै गएको छ । स्थानीयको बजारसँगको सम्बन्धविच्छेद हुँदा नुन, तेल, खाद्यान्नलगायतका दैनिक अत्यावश्यक सामग्रीको अभाव सिर्जना भएको छ । 

जिल्लाको अन्य भागबाट सोताङ र  महाकुलुङ गाउँपालिका जोड्ने मोटरेबल पुल भदौको पहिलो सातादेखि आएको अविरल बर्सातको बाढीले भदौ ७ गते बगाएको थियो । पुल बर्सातले बगाएपछि दुवै पालिकाका अध्यक्षहरू पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापनका लागि  केही दिनदेखि सङ्घीय र प्रदेश सरकारका निकायमा धाइरहनुभएको छ । 

 महाँकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले दुधकोशी नदी वारपार गर्ने मोटरेबल पुल बाढीले बगाउँदा सिङ्गो दुई पालिकाको जिल्ला सदरमुकाम र बजारसँगको सम्बन्ध नै विच्छेद भएको जानकारी दिनुभयो । सम्पर्कविच्छेद भएपछि ती दुई गाउँपालिका अलग्गै टापु जस्तो भएका छन् ।

उहाँका अनुसार ४२ मिटर लम्बाइको सो पुल अविरल आएको वर्षाले बगाउँदा महाकुलुङ र सोताङ गाउँपालिका करिब ३५ हजार नागरिक चरम समस्यामा परेका छन् । २०७५ सालमा सङ्घीय सरकार र दुई स्थानीय तहको लगानीमा पुल निर्माण भएको थियो । 

 अध्यक्ष कुलुङले भन्नुभयो, “पुलको अभावमा दुई पालिकाका स्थानीय नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएकाले सङ्घीय वा प्रदेश सरकारले पुल निर्माणको व्यवस्थापन गर्नुपर्छ ।” पुलको अभावमा दुई पालिकाका स्थानीयको बजार र अस्पतालसँगको सम्बन्धविच्छेद हुँदा मर्कामा परेका छन् । खाद्यान्नको अभाव नै हुन थालेको छ ।” सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पुल बाढीले बगाउँदा नदी वारिका व्यक्ति वारि नै पारिका व्यक्ति पारी नै रहने कठिन अवस्था आएको बताउनुभयो । 

उहाँका अनुसार स्थानीय नागरिकको बजारसँगको सम्बन्ध टुड्दा सामान्य औषधी उपचार नपाए वृद्ववृद्वा, अशक्त, गर्भवती महिलालगायतकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । निर्माण हुन लागेको अस्पताल, सडक, खानेपानी, सामुदायिक विद्यालयका भवनलगायतका पूर्वाधार निर्माण कार्य अलपत्र परेका छन् । उहाँले भन्नुभयो, “हामी दुवै गाउँपालिका अध्यक्ष पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न सङ्घीय र प्रदेश सरकारको निरन्तर ध्यानाकर्षण गराइरहेका छौँ ।” 

सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले भने दीर्घकालीन रूपमा स्थायी पुल निर्माण गर्न केही महिना लाग्ने भए पनि तत्काल काम चलाउनका लागि बेलिब्रिज निर्माण गर्न सकिने जनाएको छ । 

 आवश्यक सामग्री जुटेपछि बेलिब्रिज पुल करिब दुई साताभित्र निर्माण गर्न सकिन्छ । अहिले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहले मोटरेबल पुल देशभर कति बनेका छन् भन्ने यकिन तथ्याङ्क कुनै पनि निकायसँग छैन । त्यस्तै बर्सातको बाढीले कति कहाँ पुल बगाए भन्ने तथ्याङ्क पनि सङ्कलनकै व्रmममा रहेको विभागले जनाएको छ ।