• १२ असार २०८१, बुधबार

सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

blog

लुम्बिनी,  भदौ ११ गते । नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ । 

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताउनुभयो । पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गर्नुभयो । उहाँले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताउनुभयो । 

उहाँले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राख्नुभयो । “सर्वसम्मत भनेको सहमति र समझदारी हो”, उहाँले भन्नुभयो, “सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।” एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । 

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार  प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उहाँले उत्पीडित, महिला, युवाको फरक-फरक क्लस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिनुभयो । रासस