• ७ जेठ २०८१, सोमबार

अविरल वर्षा

सय परिवार विस्थापित जनजीवन कष्टकर

blog

मधेश प्रदेश ब्युरो

जनकपुरधाम, भदौ १० गते । मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । वर्षाको पानीले जलमग्न बस्तीको जनजीवन कष्टकर बनेको छ । 

तीन दिनदेखि लगातारको वर्षाले विभिन्न नदीमा आएको बाढीले सप्तरीको दर्जनौँ बस्ती डुबानमा परेका छन् । सप्तरीस्थित सप्तकोशी, बलानलगायत नदीको बाढी तिलाठी कोइलाडी, हनुमाननगर कङ्कालिनी, सुरुङ्गा नगरपालिकाको बस्तीमा पसेको छ । बलान नदीमा आएको बाढीले सुरुङ्गा नगरपालिका–८ को भण्डारा, माली टोल, चौधरी तथा दलित बस्तीका पाँच सयभन्दा बढी परिवार विस्थापित भएको नेपाली सेना भलुवाही गणका प्रमुख रमेश पाण्डेले जानकारी दिनुभयो । बाढीले विस्थापित परिवारका पाँच सय बढी नागरिकलाई त्यहाँका विद्यालय, वडा कार्यालयलगायतका सुरक्षित स्थानमा सारिएको र वडा कार्यालयले बस्ने, खाने व्यवस्था मिलाएको सुरुङ्गा नगरपालिका वडा नं–८ का अध्यक्ष श्याम साहले बताउनुभयो । 

बलान खोलाको बाँध कटान गरी बस्तीमा पसेको बाढीले करिब २५ घर पूर्ण रूपले भत्किएको छ भने ५४ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यस परिवारलाई सुरक्षित बसोबास, राहत र त्रिपालको आवश्यकता छ । जिल्लास्थित रेडव्रmस र अन्य निकायलाई गुहार लगाए पनि कतैबाट सहयोग नपाएको वडाध्यक्ष साहले उल्लेख गर्नुभयो ।

बलानबिहुल गाउँपालिका वडा नं–४, बेल्ही, हनुमाननगर कङ्कालिनी नगरको जोगिनिया, तिलाठी कोइलाडी पालिकाको डलवा, सकरपुरा, नदी तटीय क्षेत्रका दलित बस्तीमासमेत बाढी पसेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार विभिन्न भूभागमा आएको बाढी, बस्ती डुबानले तत्कालै ठुलो जनधनको क्षति नभए पनि बालबालिका, गर्भवती तथा सुत्केरी महिला, वृद्धवृद्धा र त्यस्ता जोखिमयुक्त बस्तीहरूको उद्धारमा प्रहरी प्रशासन तयारी अवस्थामा रहेको छ । “जोखिमको सम्भावनालाई मध्यनजर गरी अहिलेको ऐन अनुसार स्थानीय सरकार, रेडव्रmस, सेना, प्रहरी र स्थानीय प्रशासन सबै सहकार्य गरी रेस्क्यु टिम, राहत कोष दुरुस्त अवस्थामा रहेको उहाँले बताउनुभयो । 

बलानबिहुल गाउँपालिका वडा नं.–४ स्थित बलान खोलामा नयाँ बनाएको तटबन्ध कटान गरी खेतबारीसहित सशस्त्र बेस क्याम्प डुबानमा परेको छ । स्थानीय मोतीप्रसाद गुप्ता, उत्तमलाल साह तथा शिवलाल साहको जम्मा सात घरसहित करिब आठ–१० बिघा धानबालीसहित खेतियोग्य जमिन कटान गरेको स्थानीय महेन्द्र यादवले जानकारी दिनुभयो । 

अविरल वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको विभिन्न वडामा बाढीको पानी पसेको विपत् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिनुभयो । खाँडो खोला र जिता नदीको बाढीका कारण वडा नं. १, २, ४ र ५ स्थित बस्तीमा पानी पसेको उहाँले बताउनुभयो । निरन्तरको वर्षाले सदरमुकाम राजविराजको पनि विभिन्न वडामा पानी जमेको छ । ढल निकासको उचित प्रबन्ध र नियमित नाला सरसफाइ नगर्दा बर्सातको पानी विभिन्न वडामा जम्मा भएको र सर्वसाधारणलाई आवागमनमा कठिनाइ भएको स्थानीयवासी आशोलाल यादवले बताउनुभयो । 

कमला नदीको बहाव उच्च 

दुई दिनदेखि परेको अविरल वर्षाले सिरहाको पूर्वी सिमानाको बलान तथा पश्चिमी सिमानाको कमला नदीको बहाव उच्च भएको छ ।

बलान नदीमा दुई दिनदेखि आएको बाढीले विस्तारै बस्तीनजिकका तटबन्ध भत्काउन थालेको छ । बलान नदीमा शनिबार बिहानैदेखि बढेको पानीले लहान नगरपालिका–२३ करैयास्थित बलान नदीको तटबन्ध भत्काउन लागेको छ । सो स्थानमा जिल्ला विपत् व्यवस्थापनको टोली पुगेर तत्काल उद्धारको प्रव्रिmया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो ।

सिरहाको पश्चिमी सिमानामा रहेको कमला नदीको पानीको बहावसमेत बढेको छ । बढ्दै गएको बहावका कारण कमला नदीको विभिन्न स्थानमा नदी वारपार गर्ने डुङ्गालाई समेत रोक लगाइएको छ । यस्तै खुट्टी खोलाले लहान–१० स्थित विन्दा पासवानको घर भत्काएको छ । खोलाको बाढीले पासवानको घर भत्काएपछि लहान नगरपालिकाका तर्फबाट पासवानलाई खाद्यान्न र त्रिपालको व्यवस्था गरिएको छ ।

अविरल वर्षाको पानीले पूर्वपश्चिम लोकमार्गको गोलबजार र धनगढीको निर्माणाधीन सडकमा क्षति पु-याएपछि प्रहरीको सव्रिmयतामा लोकमार्गमा आवतजावत गर्ने सवारीसाधनका लागि डाइभर्सन सडकको व्यवस्था गरिएको छ । वर्षाको बाढीले बलान र कमला नदीलगायत जिल्लाभित्रका अन्य खोलामा पानीको बहाव निरन्तर बढ्न सक्ने भएकोले तटीय क्षेत्र र डुबान भइरहने होचो भूभाग रहनेहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला विपत् व्यवस्थापन समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

जनजीवन प्रभावित

अविरल वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ । दिन रात परिरहेको अविरल वर्षाले गर्दा बाटोमा हिलो तथा खाल्डोमा पानी जमेका कारण ग्रामीण भेगमा चल्ने सवारीका साधन प्रभावित हुँदा सर्वसाधारण जनता मारमा परेका हुन् ।

वर्षाले रौतहटको मुख्य सडकदेखि लिएर ग्रामीण सडक हिलाम्मे भएकाले स्थानीयवासीलाई आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । ग्रामीण भेगका सडक वर्षाको पानीले हिलो तथा ठाउँठाउँमा पानी जम्नाले पैदल यात्रु, साइकल तथा मोटरसाइकल यात्रुलाई आवतजावतमा निकै नै कठिनाइ भोग्नुपरेको स्थानीय श्यामचन्द्र झाले बताउनुभयो । सडक डिभिजन कार्यालय, सहरी विकास कार्यालय तथा स्थानीय तहकोे बजेटमार्फत बर्सेनि सडक निर्माण तथा मर्मतको नाममा लाखाँै रकम खर्च भए पनि वर्षयाममा सडकको अवस्था जीर्ण हुनाले स्थानीयवासीले समस्या झेल्दै आइरहेको उहाँले बताउनुभयो । झाँझ नदीको पानी सतह बढेसँगै आएको बाढीले दुर्गाभगवती गाउँपालिकाको पचरुखी, बडहर्वा, मत्सरी यमुनामाई गाउँपालिकाको सरुअठा तथा राजदेवी नगरपालिकाको पथराको धानबाली डुबानमा परेपछि समस्या उत्पन्न भएको स्थानीय किसान विगन महराले बताउनुभयो । 

अविरल वर्षाले बागमती, लालबकैया, झाँझ र चाँदी खोलामा पानीको बहाव उच्च छ । यी नदीमा आउने बाढीबाट उत्पन्न हुने सम्भावित खतराबाट जोगाउन स्थानीय प्रशासन सजग रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

(सप्तरीबाट देवराम यादव र ललिता साह, सिरहाबाट सन्तोष सुवेदी र गौरबाट सञ्जयकुमार साहको सहयोगमा)