• १३ साउन २०८१, आइतबार

साहित्यिक फूलको इन्द्रेणी आयाम

blog

आफ्नो जीवनका समग्र पक्ष उघारेर आफैँले लेखेको कृति आत्मवृत्तान्त हो । आत्मवृत्तान्त एउटा लेखन विधा हो । सम्झँदा सजिलो लाग्ने तर लेख्दा ज्यादै कठिन हुने विधा हो यो । सम्झनाका भण्डारबाट निस्कने रत्नहरूको माला बनाउन सहज पक्कै हुन्न । स्मरण क्षमता, इमानदारी, स्पष्टता र लेखनीको जाँगरले सँगसँगै हातेमालो गरे भने मात्र आत्मवृत्तान्त लेखन पूरा हुन्छ र सुन्दर कृति बन्ने छ । यस्तो कृति विगतको तस्बिर बनेर वर्तमानमा उपस्थित हुन्छ भने भविष्यका लागि प्रेरणाको स्रोत बन्न सक्छ । विश्वसाहित्यमा आत्मवृत्तान्त पठनका लागि अभिरुचिको विधा बनेको छ । नेपाली साहित्यमा पनि यस विधाका त्यस्ता कृति थुप्रै लेखिएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, जगदीशचन्द्र घिमिरेको अन्तर्मनको यात्रा, पुरुषोत्तम दाहालको मेरो पत्रकारिता, नरेन्द्र चापागाईंको सान्ठुलेको रामकहानी, प्राध्यापक सर्वज्ञभक्त मल्लको मेरो जीवन गाथा आदि आत्मवृत्तान्तका केही उदाहरण हुन् । 

साहित्यकार तथा समाजसेवी दधिराज सुवेदीको ‘अविरल यात्रा’ आत्मवृत्तान्त विधाको कृति हो । यस कृतिमा सुवेदीले आफ्नो जीवनका समग्र पक्षहरू प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । आफ्नो जीवनी आफैँ लेखेर सुवेदीले ‘अविरल यात्रा’मा जीवनका इन्द्रेणी आयामलाई पाठक समक्ष प्रस्तुत गरिदिनु भएको छ । जन्मदिनका कथादेखि बाल्य जीवनका विविधता, किशोरावस्था, युवावस्था र प्रौढ जीवनको यथार्थ यस कृतिमा उल्लेख भएका छन् । सुवेदीले आफूले लगभग आठ दशक लामो जीवनमा गरेभोगेका, देखेसुनेका, जानेबुझेका इतिहास, संस्कृति, संस्कार, परम्परा एवं रीतिरिवाजका अनगिन्ती उदाहरण यस कृतिमा सङ्ग्रहित गर्नुभएको छ ।

क्रमागत शीर्षक राखी छोटाछोटा रचनाहरू र जानकारीमूलक टिपोटका कारण ‘अविरल यात्रा’ पाठकलाई पढ्नका लागि सहज छ । आफूलाई इच्छा लागेको शीर्षक अन्तर्गतको जानकारी लिन सजिलो छ । भोजपुरको प्राकृतिक सौन्दर्यदेखि आफू पढ्दा, जागिर गर्दा, तीर्थयात्रा एवं साहित्यिक यात्रा गर्दाका स्थानको छोटो छरितो वर्णनले नियात्राको झझल्को दिन्छ । जीवन रहला कि नरहला जस्तो दोधारका कष्टकर दिनहरूको मार्मिक वर्णन र आफू पुरस्कृत र अभिनन्दित हुँदाका खुसीका अनुभवलाई सुवेदीले मनैबाट अक्षरमा रूपान्तरित गर्नुभएको छ । भोजपुरमा जन्मिएको बालक बाल्यशिक्षा भोजपुरमै ग्रहण गरेर तराई झर्नु परेको दर्दनाक कहानीले पाठकको मन नै सिरिङ्ग गराउँछ । आफ्नो पढ्ने शैली र गुरुको पढाउने शैली नमिल्दाका क्षणहरू, बालागुरु षडानन्द अधिकारीको जीवनका केही अंश, जागिरका सुरुवाती दिनका वर्णनले सुवेदीका जीवनका केही घटनालाई प्रकट गरेका छन् । दाम्पत्य जीवनको सुखानुभूति, विराटनगर बरगाछीको बसोबास, खानपानका आकाङ्क्षा र सचेतना, वैराग्य र त्यसले पार्ने प्रभाव, अमेरिकातिरको भ्रमण र त्यताप्रतिको वितृष्णा यस पुस्तकमार्फत सुवेदीले पस्कनु भएका स्वादिला सन्दर्भ हुन् । साहित्यिक रुचि र सक्रियता सुवेदीले जीवनको शैली नै बनाउनु भयो । साहित्यिक संस्थासँग आबद्ध हुँदै धेरै लेखन, प्रकाशन र सम्पादनको कर्म गर्नुभयो । यस्ता अनेक सन्दर्भ छुटेका छैनन् यस कृतिमा । 

आध्यात्मिक चिन्तनको प्रभाव र भौतिक जीवनको व्यवहारमा सन्तुलन ल्याउन सामाजिक सङ्घसंस्थामा सक्रिय भएको उल्लेख गर्दै सुवेदीले आफ्नो कृतिमा वर्तमान जीवन कसरी चलिरहेको छ सो पनि बताउन छुटाउनु भएको छैन । मानिस अरूका नराम्रा कुरा चाँडै र सजिलै देख्छन् र त्यसैमार्फत व्यक्तिलाई खिसी गर्ने, होच्याउने कर्ममा लाग्छन् तर सुवेदीले भने यस कृतिमा आफ्ना कमीकमजोरीलाई आफैँले सार्वजनिक गर्नुभएको छ । रोगव्याधिले आक्रान्त पारेपछि, घरायासी आर्थिक अवस्थाले उपचार धान्न अत्यन्तै कठिन स्थिति देखिँदा दुस्वप्नसमेत देख्न पुगेका सुवेदी जीवनमा पाएका सफलताले प्रफुल्लित हुँदै खुबै रमाउनु भएको छ । 

बालागुरु षडानन्दको हुलाक टिकट प्रकाशन गरी पाउँ भन्ने आफूले दिएको निवेदनका कारण छ महिनाभित्रमै षडानन्दको तस्बिर अङ्कित हुलाक टिकट छापिएको अपार खुसी, पहिलो पटक साहित्यिक लेखनबाट पारिश्रमिक पाउँदाको उमङ्ग, सुब्बामा बढुवा हुँदाको रमाइलो, नेगियार बनेर दमाहा बजाउँदा सामाजिक सुधारका लागि केही गरिँदै छ भन्ने गौरवानुभूति, डाक्टर स्वामी प्रपन्नाचार्यका हातबाट सम्मानित र पुरस्कृत हुँदाको क्षण, एक एक लाख नगद रुपियाँको ‘मनिराज वाङ्मय पुरस्कार’ धनगढीमा र नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘नेपाल प्रज्ञा साहित्य पुरस्कार’ प्राप्त गरी सम्मानित हुँदाका खुसीका क्षणलाई सुवेदीले आफ्नो कृतिमा सुखानुभूतिका क्षणका रूपमा लिनु भएको छ । 

‘अविरल यात्रा’ मा सुवेदीले सुखका कुरा, खुसीका कुरा, उपलब्धिका कुरा मात्र उल्लेख गर्नुभएको छैन, रोगले मृत्युका मुखमा पुग्दाका कुरा, अबुझ गुरुले दिएका दुःखका कुरा, पारिवारिक सन्ताप र झमेलाका कुरा, जागिरमा भोगेका पीडाका कुरा, साथीसँगीसँगका असामञ्जस्यताका कुरा, आफँैले बिगारेका कामका कुरा आग्रह पूर्वाग्रहबिना उल्लेख गरे झैँ लाग्छ । यस कृतिमा सुवेदीले काम गर्नुभएका सम्पूर्ण सङ्घसंस्थाका नाम ठेगाना, आफूलाई पुरस्कृत एवं सम्मानित गर्ने सङ्घसंस्थाका नाम ठेगाना, आफू सहभागी भएका साहित्यिक एवं सामाजिक कार्यक्रमका आयोजक सङ्घसंस्थाका नाम ठेगाना, कार्यक्रमका तिथिमिति उल्लेख गरेर पाठकलाई विभिन्न सङ्घसंस्थाका बारेमा जानकारी दिनुभएको छ । उहाँले आफ्नो व्यक्तित्व विकास गर्न सहयोग गर्ने, आफूलाई सम्मान र अभिनन्दित गर्ने, सो गर्न पहल गर्ने व्यक्तिका बारेमा समेत विवरण प्रस्तुत गर्नुभएको छ । यसले सुवेदीको कृतज्ञ स्वभावको परिचय दिएको देखिन्छ । जीवनका महत्वपूर्ण अवस्थाका केही तस्बिरसमेत समेटिएकाले पुस्तकलाई जानकारीमय र सुन्दर तुल्याएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरद्वारा प्रकाशित यस कृतिको प्रकाशकीयमा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विवश पोखरेल दधिराज सुवेदीका बारेमा लेख्नु हुन्छ, ‘उनी नेपाली भाषा साहित्यको बगैँचाका माली मात्र होइनन्, बगैँचामा फुलेका सुन्दर फूल पनि हुन्’ ।