• १३ साउन २०८१, आइतबार

मौलाकालिकाको सेरोफेरो

blog

हिमवत्खण्ड नेपाल प्राकृतिक, धार्मिक एवं सांस्कृतिक विराटताको पगरी गुथेर आदिकालदेखि विश्वमा आफ्नो छुट्टै परिचय बोकेर रहेको छ । यहाँ यस्ता कैयौँ स्थान छन्, जसको आआफ्नै विशेषताहरूले कैयौँ पर्यटकलाई तानेर मन्त्रमुग्ध पार्ने गर्छन् । यस्तै महìवपूर्ण स्थानहरूमध्ये पूर्वी नवलपरासी जिल्ला, गैँडाकोट नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणगढ पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा समुद्री सतहदेखि ५६१ मिटरको पहाडी वनको धुरीमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

यो स्थानमा पुग्दा त्यसको सेरोफेरोमा रहेका नारायणगढ बजारदेखि नारायणी नदीको नागबेली प्रवाह, उत्तरमा कालीगण्डकी नदी, वनले ओगटेका हरियाली डाँडा–भञ्ज्याङ, सहरी र ग्रामीण क्षेत्रका विभिन्न स्थान, चितवन राष्ट्रिय निकुञ्जका साथै उत्तरतर्फका हिमाली शृङ्खलाले जो कसैका मनमस्तिष्कमा आनन्दले स्फूर्ति नजगाउने कुरै हुँदैन । उकालो हिँड्न गाह्रो हुनेहरूका लागि सवारीसाधनमा पुग्न सकिन्छ भने २०८० सालको वैशाख १ गतेदेखि केबुलकार सेवा पनि सुरु भइसकेको छ ।

धार्मिक पृष्ठभूमि

पन्ध्राैँ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थवास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडी पीठका रूपमा पूजा अर्चना गर्ने व्यवस्था गरेका थिए । उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गर्ने गरेका थिए भन्ने पनि किंवदन्ती रहेको पाइन्छ । त्यसपछि गाउँलेले आलोपालो गरी पूजा चलाएका थिए । यहाँ ठुलो सालको रुख थियो । १९९० सालको भुइँचालोमा त्यो रुख ढल्यो । रुखसँगै जोडिएको मन्दिरमा भएका ऐतिहासिक संरचनाहरू भताभुङ्ग भए । कालान्तरमा गाउँले अन्यत्र बसाइँ सर्न लागे र मन्दिर जाने, पूजापाठ गर्ने प्रचलन बिस्तारै कम हुँदै गयो ।

२०३२ सालमा गैँडाकोट–१ निवासी काशीनाथ पौडेलको सक्रियतामा स्थानीय व्यक्ति कुमानसिंह गुरुङसमेतले उक्त स्थलमा खनीखोस्री गर्दा धमिराले खाएको काठको मौलो, गोलो आकारको शिला तथा घन्टीहरू भेटिएको थियो । त्यसपछि सोही स्थलमा स्थानीय बासिन्दाले सानो मन्दिर निर्माण गरी बडादसैँ र चैतेदसैँमा मात्र पूजापाठ हुँदै आएकोमा २०३८ सालको बडादसैँदेखि धार्मिक सेवा समितिले संस्थागत रूपमा पूजा प्रारम्भ गरेको हो । 

२०४३ साल वैशाखदेखि हप्ताको दुई दिन मङ्गलबार र शनिबार पूजा गर्न थालियो । यसै गरी २०४४ साल चैत ६ गतेदेखि नियमित पूजापाठ हुँदै आएको हो । मन्दिर परिसरभित्र बलिप्रथा निषेध गरिएको छ । मौलाकालिका मन्दिर प्रवेशद्वारनजिक सिद्धिविनायक गणेश मन्दिर, राधाकृष्ण मन्दिर, बुद्धको प्रतिमाका साथै देउराली भञ्ज्याङ सिँढीमार्गमा देउराली देवीको मूर्ति स्थापना गरिएको छ । मौलाकालिका प्राङ्गणमा हवनकुण्ड, भैरवीदेवीको मन्दिर, शिव मठ तथा शिवलिङ्ग, तुलसीदेवीको मठ र मूलप्रवेशद्वारमा गणेश र सरस्वतीका मूर्ति छन् । 

उपासना, महत्व र जनश्रुति

मौलाकालिकाको पूजा–अर्चना, आराधना एवं उपासना गर्नाले मनले चिताएको पुग्नुका साथै आत्मसन्तुष्टि र आनन्द मिल्ने जनश्रुति रहेको छ । यहाँ नेपाललगायत छिमेकी राष्ट्र भारत, भुटानबाट समेत उपासक आउने गरेका छन् । देश–विदेशका प्रतिष्ठित व्यक्तित्वहरू पनि भगवतीको दर्शन एवं पूजा–अर्चनामा पुग्ने गरेका छन् । देवघाट क्षेत्र विकास समिति अन्तर्गतका धार्मिकस्थलमध्ये भौगोलिक हिसाबले यो शक्तिपीठ सबैभन्दा उच्च भूभागमा रहेको छ । युवासन्त श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती यस संस्थाका प्रमुख संरक्षक हुनुहुन्छ । 

पदयात्रा क्षेत्र

डाँडोको टुप्पोमा अवस्थित मौलाकालिका धार्मिक महत्वका साथै पैदलयात्राका दृष्टिले पनि त्यत्तिकै सुन्दर गन्तव्य हुन सक्छ । डाँडाको फेदीबाट मन्दिर करिब एक घण्टाको हिँडाइ हो तर मार्ग ठाडो उकालो छ । पैदलयात्रामा पसिनाले निथ्रुक्क भिजिन्छ । बिच–बिचमा राखिएका चौतारा र आराम गर्ने ठाउँमा बस्दै आराम गर्दै जान सकिन्छ । सालको वन र चराको चिर्रबिरे आवाजको आनन्द लिन सकिन्छ । 

पैदलयात्राको अर्को विशेष आकर्षण चट्टानमा कुँदिएका दर्जनौँ आकर्षक मूर्तिकला हो । यसको अवलोकन गर्ने अवसर पनि पदयात्रामा मिल्छ । विभिन्न जातका वनस्पति, कीरा, फट्याङ्ग्रा, सर्प र अजिङ्गरहरूसमेत यहाँ देखिने गरेका स्थानीयवासीको भनाइ छ । जङ्गलको छेउमै मानव बस्ती भएकाले बेलबखत हरिणहरू खेतमै चर्न आउने गरेकोसमेत स्थानीयवासी सुनाउँछन् । 

यो क्षेत्रको अर्को महìवपूर्ण आकर्षण वनविहार हुन सक्छ । मौलाकालिका सामुदायिक वनद्वारा डाँडाको फेदीमा चुहार खोला जलासय ड्याम निर्माण हुँदै छ । यहाँ दुई सय व्यक्ति क्षमताको एउटा ध्यान केन्द्र, बुद्ध प्रतिमा र भ्यु टावरसहितको एउटा पर्यटकीय पार्क बन्ने छ । सहरी जीवनशैलीबाट वाक्कदिक्क भएको अवस्थामा वनभित्रकै मार्गहरूको प्रयोग गर्दै ढोडेनी, केलादी, हर्दी (वनको उत्तरतर्फ रहेका सुन्दर गाउँहरू) का साथै देवघाट (कालीगण्डकी, सेती र नारायणीको सङ्गम स्थल) सम्म पुग्न सकिन्छ । वनभित्रै आराम गर्ने पाटी पनि भेट्न सकिन्छ । साथै वनभोजका लागि फेदी सेरोफेरोको क्षेत्रमा राम्रो व्यवस्था रहेको छ ।

पूर्वपश्चिम राजमार्गको गैँडाकोट खण्डस्थित कालीगण्डकी चोकबाट उत्तरतर्फ करिब पाँच किमी दूरीमा अवस्थित एउटा सुन्दर गाउँ हो ढोडेनी । एउटा उच्च माविसहित, स्तरीय क्याफेका साथै एउटा सानो नमुना धरहरा, चियाकफी, खाजा, खाना र बास बस्नयोग्य होटलहरू पनि छन् यहाँ । मुख्यतः मगरको बसोबास रहेको यो गाउँ एकरात बिताउने राम्रो गन्तव्य हुन सक्छ । सहरी क्षेत्रको दैनिक कामबाट मुक्त भई ताजगी प्राप्त गर्नका निम्ति खेतीपाती, ग्रामीण जीवन पद्धति नियाल्दै ग्राम विहार गर्न सकिन्छ ।

स्थानीवासीका अनुसार लामो पदयात्रा गर्न चाहनेहरूका लागि यहीँबाट पोखरा र विभिन्न गोरेटाहरूको प्रयोग गर्दै तनहुँ जिल्लाका विभिन्न स्थान पुग्ने मार्ग भेट्न सकिन्छ । त्यस्तै पैदलयात्राका क्रममा विभिन्न ग्रामीण क्षेत्रमा बास बस्दै सेरोफेरोका विभिन्न गन्तव्यसम्म पुग्न सकिन्छ । हुन त हाल मोटरमा ढोडेनी, डेडगाउँ हुँदै तनहुँको भीमादबाट पोखरा पनि पुग्न सकिन्छ । त्यस्तै पाल्पाको रामपुर निस्केर आरे भञ्ज्याङ हँुदै बागलुङको बेलबगरसम्म मोटर कुद्ने राम्रो बाटो बनिसकेको पनि बताइन्छ । यो सडक मार्गमा दैनिक चार/पाँच वटा सार्वजनिक बस र जिपहरू पनि चल्न थालेका छन् । यो कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटको कालीगण्डकी चोकबाट मुक्तिनाथसम्मको दीर्घकालीन परियोजना हो ।  नारायणी पुलबाट नदीको किनारै किनार करिब दुई घण्टामा हर्दी पुगिन्छ । यहाँबाट कालीगण्डकी नदीमाथि तनहुँ जोड्ने पक्की पुल पनि बनिसकेको छ । यो कालीगण्डकी नदी किनारमा अवस्थित सुन्दर गाउँ हो । देवघाट सेरोफेरोमा बस्ने स्थानीयवासी, तीर्थयात्री र सन्न्यास जीवनयापन गर्नेहरू यहाँ स्नानमा आउने जाने पनि गरिरहेका देख्न सकिन्छ । त्यसो त यो बिचको मार्गमा पैदलयात्राको साँच्चै सानदार अनुभूति लिन सकिन्छ । 

नारायणी पुलबाट पैदल करिब एक घण्टामा पुग्न सकिने केलादी हुँदै हर्दी पुग्न सकिन्छ भने नारायणी नदी नियाल्दै वनैवनको मार्ग पछ्याउँदा अत्यन्त आनन्ददायी अनुभूति लिन सकिन्छ । केलादी पुग्नुपूर्व विभिन्न मठमन्दिर, आश्रम, धर्मशाला आदि रहेको ब्रिटिस क्याम्प क्षेत्र; जसको पूर्वी भागमा दिव्यधाम परिसर रहेको छ । यो परिसरको सेरोफेरो आफैँमा घुम्नलायक छ, जहाँ नारायणी किनारमा आगन्तुकका लागि पार्क पनि बनेको छ । यहाँबाट नारायणी नदीको किनारमा बसेर देवघाटसम्म नियाल्न सकिन्छ । 

२०२० सालमा पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डको निर्माण ब्रिटिसहरूले गरेका थिए र सोही समयमा नारायणी नदी किनारमा उनीहरूको परियोजनाको बासस्थान (क्याम्प) भएको हुँदा उक्त क्षेत्रलाई ब्रिटिस क्याम्प नै भनेर चिनिने गरेको छ । त्यस्तै विसं २०१९ सालमा तत्कालीन राजा महेन्द्रले राजमार्ग उद्घाटन गरेको स्थानलाई आज पनि शिलान्यास चोकका नामले चिनिने गरेको छ । 

केलादीबाट देवघाटको सुन्दर दृश्य नियाल्दै चिया पिउनुको आनन्द बेजोड बन्न सक्छ । त्यसो त देवघाटमा तीन जिल्ला पूर्वी नवलपरासी, तनहुँ र चितवनलाई जोड्ने एसियाकै नमुना पुलको डिपिआर पास भइसकेको सुनाउँछन् स्थानीयवासी तर राजनीतिक खिचातानीले उक्त परियोजना बन्ने नबन्ने शङ्का पनि गर्छन् उनीहरू । यहाँ देवघाटधामको सौन्दर्य नियाल्दै रात बिताउन सकिन्छ । राम्रो गाँसबासको व्यवस्था पनि यहाँ छ । कालीगण्डकी किनारको हर्दी गाउँका सुन्दर खेतीयोग्य फाँटमा बसेर नदी र सेरोफेरोको हरियाली नियाल्नु आनन्द प्राप्तिको अर्को आहार हो । नारायणी नदीमा बोटिङ र देवघाटमा ¥यफ्टिङको आनन्द लिन पनि सकिन्छ ।

यो क्षेत्रका महत्वपूर्ण पदमार्गमध्ये एक हो – मुकुन्दसेन पदमार्ग । २०७६ साल जेठ १९ गतेदेखि मौलाकाली मुकुन्दसेन दरबार भग्नावषेश परिसर पर्यटकीय पदमार्ग खुला गरिएको छ । मौलाकालिका मन्दिरबाट पश्चिमतिर डाँडाको शिरैशिर १३.५ किमीको दूरीमा उक्त दरबारको भग्नावशेष परिसर रहेको छ । पाल्पाली राजा मुकुन्दसेन देवघाट तीर्थ आउने क्रममा बास बस्न र सैनिक सुरक्षाका खातिर उक्त दरबार बनाएको कुरा उल्लेख गर्छन् मौलाकाली मुकुन्दसेन दरबार भग्नावषेश परिसर पर्यटकीय पदमार्गका अध्यक्ष काशीनाथ कँडेल । 

यो मार्गमा डाँडाको टुप्पैटुप्पो पदयात्रा गर्दा दक्षिणतर्फ नारायणी नदीको नागबेली दृश्यसँगै लमतन्न फैलिएको तराईको फाँट र पूर्वपश्चिम राजमार्ग आकाशबाट ड्रोनले खिचेको दृश्य झैँ लाग्छन् । त्यस्तै राजमार्गमा दौडिरहेका मोटर र सहरी बस्तीका दृश्य हेर्दै अघि 

बढ्नुको अलौकिक आनन्द पनि शब्दमा कोर्न असम्भव छ । जङ्गलका बिचैबिचको पदयात्रामा चितुवासँग जम्काभेट हुँदैन भन्न सकिन्न । त्यसैले पनि केही सावधानी भने अपनाउनैपर्ने हुन्छ । हाम्रो सौभाग्य भनौँ या संयोग, केही ठाउँमा हरिण भने देख्न पाइयो, जुन हाम्रो यात्राको विशेष सौन्दर्यको पक्ष बन्यो । 

अनिल खड्काजी मेरो यात्राका सहयात्री मित्रका चोटिला बात यात्राको अर्को उमङ्ग छँदै थियो । मन मिल्ने मित्रसँगै पदयात्राको आनन्दमा भुल्दै सेरोफेरोको दृश्यमा रमाउँदै गर्दा दाउरा लोड गर्दै गरेको ट्याक्टर भेटियो मार्गमा । यो मार्गमा मोटर कुद्ने ट्र्याक खोलिएको छ, पछि यसलाई विस्तारित गर्दै लाने योजना रहेको जानकारीसमेत अध्यक्ष कँडेलले दिनुभयो । उक्त ट्र्याक प्रयोग गर्दै वनबाट काठ, दाउरा ओसार्न ट्याक्टरहरू दौडिरहेका भेटी नै रह्यौँ हामीले । मार्गको उत्तरतर्फ महाभारत पर्वतश्रेणीसँगै ग्रामीण बस्तीको सौन्दर्यपान गर्न सकिन्छ । 

गन्तव्यस्थानमा एउटा शिव मन्दिर र सेरोफेरोको दृश्यपान गर्न सक्ने काठको पाटी छ । यही मन्दिरमा पहिले त्रिदण्डी बाबा बस्ने गरेका रहेछन् । करिब दस वर्ष यहाँ बिताएका ती बाबाले यहीँ देहत्याग गरेपछि उनकै इच्छा अनुसार उनको देह त्यही मन्दिर परिसरमा समाधिस्थ गरिएको कुरासमेत कँडेलले सुनाउनुभयो । उक्त पाटीको एक तलामाथिबाट दक्षिणतर्फ नवलपरासीको भेडाबारी सेरोफेरोको सुन्दर फाँटले तपाईंहरूको पैदलयात्राको सम्पूर्ण थकान मेट्ने छ, जसरी हाम्रो मेटेको थियो । 

अन्त्यमा

भौगोलिक हिसाबले होस् या धार्मिक र पर्यटकीय दृष्टिले नारायणी नदीको सेरोफेरो देशकै विशेष महìव बोकेका क्षेत्रहरूमध्ये एक हो । त्यसमा पनि सेती गण्डकी, कालीगण्डकी र नारायणी नदीको जलप्रवाह (सिँचाइ, विद्युत् उत्पादन), धार्मिक एवं पर्यटकीय दृष्टिले विशेष महìव छँदै छन् । भौगोलिक हिसाबले देवघाट देशको मध्य वा केन्द्रमा अवस्थित स्थान पनि हो । धार्मिक रूपमा त आदिकालदेखि नै यो क्षेत्र चर्चामा रहेकै देखिन्छ । यहाँ बन्न लागेका भनिएका विकासका पूर्वाधारहरूले निःस्वार्थ गति लिने हो भने आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने सम्भावना त्यत्तिकै रहेको छ । 

त्यस्तै पन्ध्रौँ शताब्दीदेखिको ऐतिहासिक महत्व बोकेको मौलाकालिका भगवती पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय गन्तव्यको रूपमा अपार सम्भावना बोकेको क्षेत्र हो । हरेक दृष्टिकोणले देशका यस्ता सम्भावना बोकेका स्थलहरूको खोजी र विकास हुनु आवश्यक छ, जसले रोजगारीका अवसरहरू पनि सिर्जना गर्ने छन् र वैदेशिक रोजगारीमा भर पर्नुपर्ने बाध्यता घट्दै जाने छन् ।