काठमाडौँ, भदौ ९ गते । नेपाल राष्ट्र बैङ्कले रु १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रूपमा राष्ट्र बैङ्कले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।
बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्कासन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।
घटीमा रु पचास हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् ।
राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत्मात्र हुनेछ । रासस