गोरखापत्र अनलाइन
विराटनगर, भदौ ८ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेको चर्चा गर्नुभयो ।
सुन तस्करीको छानविन विषयलाई सत्तासँग जोडेर हेर्न नहुने उहाँले बताउनुभयो । एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘तस्करी भयावह ढंगले भइराखेको छ । त्यो देशका लागि, देशको इज्जतको लागि, सबभन्दा ठूलो कुरो अर्थतन्त्रको लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पु¥याउँछ । यस हिसावले यो धेरै गम्भीर कुरा हो ।’
“यसलाई रोक्नैपर्छ । यदि यो कुरालाई तपाईले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन” उहाँले भन्नुभयो, “सरकारतिर ध्यान होइन, हाम्रो राजनीतिक स्थिरता, स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तस्करीजन्य कुरा भ्रष्टाचारकै अङ्ग हो ।”
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोशी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गर्नुभयो ।