• २७ वैशाख २०८१, बिहिबार

संस्कृतिलाई राज्यको पहिचान बनाउन सक्नु पर्छ

blog

प्युठानको गुरी गाउँमा जन्मिनुभएका वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी देशको मौलिक संस्कृतिलाई देश विदेशमा चिनाउन लागिपर्नुभएको छ । उहाँ नेपाल लोकसांस्कृतिक प्रतिष्ठान, नेपाल फोक लोरिक फाउन्डेसन, एभरेस्ट नेपाल कल्चर ग्रुप, इन्टरनेसनल अर्गनाइजेसन अफ फोक आर्ट जस्ता अन्तर्राष्ट्रिय संस्थामा आबद्ध हुनुहुन्छ । बाल्यकालदेखि नै नृत्यमा रुचि राख्नुहुने केसीले कला संस्कृतिलाई विदेशमा चिनाउन गर्नुभएको योगदानबारे गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता सुकृत नेपाल, भिडियोमा मनोजरत्न शाही र केशव गुरुङले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश : 

 

लामो समयदेखि कला संस्कृतिको संरक्षणमा लाग्दै आउनुभएको छ । पछिल्लो समय के गर्दै हुनुहुन्छ ? 

हो, म विगत ३३ वर्षदेखि यसै क्षेत्रमा क्रियाशील छु । अहिले पनि सांस्कृतिक कार्यक्रमको दौरानमा नै छु । प्रशिक्षण र साधनामा नै व्यस्त छु ।

कसरी यो क्षेत्रमा प्रवेश गर्नुभयो ? 

बाल्यकालदेखि नै नृत्यमा मेरो रुचि थियो । त्यसै अनुरूप विद्यालयमा हुने अतिरिक्त कार्यक्रममा म सहभागी हुन्थेँ । त्यो बेला फेरि नाटक भन्ने नै गरिन्थ्यो । नाटक कार्यक्रम पनि हुने त्यो पनि राति । अग्रज कलाकारले नाटक प्रस्तुति गर्नुहुन्थ्यो । प्रहसन, नृत्य, गायन, वाद्यवादन कार्यक्रम हुन्थ्यो । त्यो कार्यक्रम म चाखलाग्दो तरिकाले हेर्थें । त्यहीँबाट मेरो रुचि बढेर यो क्षेत्रमा आकर्षित भएँ ।  

नृत्य भनेको के रहेछ ?

नृत्य भनेको शरीरका विभिन्न अङ्गप्रत्यङ्ग र हाउभाउद्वारा व्यक्त गरी देखाइने सुन्दर कला हो । 

नृत्यलाई देश विदेशमा चिनाउन तपाईंले कसरी काम गरिरहनुभएको छ ?

पहिला नृत्य प्रशिक्षण र विभिन्न सांस्कृतिक कार्यक्रमको दौरानमा हुन्थेँ तर पछि म अभियानमा जुटेँ । यो सँगसँगै मलाई विदेशमा नेपालीका विभिन्न जातजातिको  सांस्कृतिक नाच देखाउने अवसर मिल्यो । पहिला म सहभागी नृत्यकारका रूपमा परिचित भएँ । विस्तारै विभिन्न नृत्यलाई आफैँ कोरियोग्राफी गर्न थालेँ । अहिलेसम्म पनि म त्यही अभियानमा छु । 

विदेशमा आफ्नो कला संस्कृति झल्किने प्रस्तुति दिँदा कस्तो अनुभव हुन्छ ? 

राज्य, पर्यटन बोर्ड, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, सांस्कृतिक संस्थानहरूले गर्नुपर्ने काम व्यक्तिगत रूपमा मैले गरेजस्तो अनुभूति भइरहेको छ । संस्कृति देशसँग जोडिएको अत्यन्तै गहन विषय हो । विभिन्न जातजातिले नाच्ने कला संस्कृतिलाई देशकै प्रतिनिधित्व गरेर त्यहाँ पु¥याउँदा त्यहाँका जनतासँग आफ्नो संस्कृति साटासाट गर्न पाउँदा एकदमै खुसी र गर्वको अनुभूति हुन्छ । मैले राज्यलाई दोष दिन खोजेको पनि होइन तर राज्यले जिम्मेवारी लिए अझ राम्रो हुन्थ्यो भन्न मात्रै खोजेको हुँ । 

मौलिक संस्कृति झल्किने नृत्य र विदेशी मुलुकले देखाउने नृत्यमा के भिन्नता पाउनुभयो ? 

नेपालको कला संस्कृति  विश्वकै लागि नौलो छ । हाम्रो हिमाल, पहाड, तराईमा जुन नाच नाचिन्छन् । जे जस्ता कला संस्कृति छन् । फरक जातको फरक फरक रहनसहन, नृत्य, सङ्गीत लोकगीत, बाजा, धुन छन् । यसमा पनि हाम्रा मौलिक वेशभूषा धेरै फरक छन् । युरोपमा सहभागी हुँदा उनीहरूको नृत्य हेर्दा हामीलाई एकै प्रकारको र एउटै तालको जस्तो लाग्छ । उनीहरूले देखाउने प्रस्तुति शैली हाम्रो भन्दा उत्कृष्ट छ । नृत्यमा उनीहरू निखारिएर लाग्छन् । साधना पनि धेरै छ ।

यति हुँदाहुँदै पनि हाम्रा नृत्यमा अनेकौँ नौला कुरा हुन्छन् कि सायद विश्वमा त्यति धेरै संस्कृति झल्किने नृत्य बिरलै होलान् । यति हुँदाहुँदै पनि हाम्रा नृत्यमा भएको मौलिकता अन्यत्र छैन । ती साँच्चै विश्वमै हेर्न लायकको हुन्छ । सानो देश भए पनि हामीसँग विविधता छ । यसमा गर्व गर्नु पर्छ । विदेशीहरू हाम्रो नाच, पोसाक, गरगहना देखेर अचम्म मान्छन् । हाम्रो संस्कृति र कलाको मन्त्रमुग्ध तरिकाले प्रशंसा गरेको हामीले पाउँछौँ । 

यो क्षेत्रमा थप सुधार गर्न के गर्नु पर्ला ?

यसमा एक त हामीले हाम्रो पहिचान के हो भन्न नै सकिरहेका छैनौँ । हामी संस्कृतिमा यति धनी छौँ कि सबै जातजातिका मौलिक कला, संस्कृति गहन रूपमा अध्ययन र  विश्लेषण गर्नु पर्‍यो । त्यसको महत्वलाई मनन गर्दै संरक्षण र प्रवर्धन तथा पुस्तान्तरणका लागि राज्य गम्भीर हुनु पर्छ । त्यसलाई राज्यको पहिचान बनाउन सक्नु पर्छ । आन्तरिक रूपमा एक जातजातिले अर्को जातजातिको कला संस्कृतिलाई सम्मान गर्न सिक्यौँ भने यसलाई माथि उठाउन सकिन्छ । हामी नयाँ नयाँ घर, पुल, बाटोघाटो बनाउन सक्छौँ तर संस्कृति नयाँ बनाउन सक्दैनौँ । संस्कृति भनेको गहन विषय हो । 

के नेपालमा नृत्यलाई नै पेसा बनाएर जीवन चलाउन सकिने अवस्था छ ?

जुन पेसा अँगाले पनि त्यसमा धैर्यवान् भएर निरन्तर लागिरहन सकेमा त्यसमा अब्बल बन्न सकिन्छ । त्यसरी अब्बल बनेपछि त्यसको भविष्य पनि उत्तिकै राम्रो हुन्छ नै । अब्बल बन्नका लागि त्याग, तपस्या, साधना भने चाहिन्छ । तत्कालै परिणाम खोज्न थाल्यो भने त्यो पूरा नहुन पनि सक्ला ।