• २५ पुस २०८१, बिहिबार

जीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महत

blog

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै अर्थ मन्त्री डा. प्रकाशशरण महत । तस्बिर : अर्थमन्त्रीको सचिवालय

काठमाडौं, भदौ ७ गते । अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार क्यानाडाको भ्यानकुभरमा आज (बिहीबार) आयोजित सम्मेलनमा सहभागी हुनुहुँदै मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गर्नुभएको छ ।

सो अवसरमा विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका निर्देशक डा. ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतीहरू एवम् त्यसको न्यूनीकरण गर्ने उपायहरू बारेमा छलफल गर्नुभयो ।

द्विपक्षीय बैठकका क्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी, मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको सङ्ख्यामा तेब्बर वृद्धि तथा गैंडाको सङ्ख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिनुभएको थियो ।

यो उपलब्धिका साथै नेपालमा मानव र जङ्गली जनावरबीच द्वन्द्वको सिर्जना भएको र  यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नुपरेको जानकारी उहाँले दिनुभएको थियो ।

यसैगरी, मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणका लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावत मैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूका लागि जोखिम बिमा तथा स्वरोजगार एवम् आय आर्जनका लागि अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

यसैक्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको विषय पनि उल्लेख गर्नुभएको थियो । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्त हुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नुपर्नेमा जोड दिनुहुँदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७ औं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।