• ४ जेठ २०८१, शुक्रबार

याम्फुदिनको खाँगे झरना पर्यटकको पर्खाइमा

blog

सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा रहेको खाँगे झरना । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा छ । हालसम्म प्रवर्धन र आवश्यक प्रचार प्रसारको अभावले ओझेलमा परेको खाँगे झरना पर्यटकको प्रतीक्षा गर्न बाध्य भएको हो ।  

प्राकृतिक रुपमै मनमोहक दृश्यसँगै सुन्दर र आकर्षक खाँगे झरना यतिबेला पर्यटकको पर्खाइमा छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरनासम्बन्धी प्रचार प्रसार र पूर्वाधारसमेतको अभावले ओझेलमा परेको छ । 

कञ्चनजङ्घा पदमार्ग नजिकको स्थानमा रहेको सुन्दर झरना पर्याप्त प्रचार प्रसार नभएकै कारण ओझेलमा परेको स्थानीय सन्तोष राईले बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका राईले झरनाको मनोरम दृश्यले भने पर्यटकको मन लोभ्याउने गरेको बताउनुभयो । 

पछिल्लो समय आन्तरिक पर्यटक मात्र यो झरनाको भ्रमण तथा अवलोकन गर्न पुग्ने गरेका उहाँले बताउनुभयो । झरनाको प्रचार प्रसारसहित प्रवर्धन र विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुने र आम्दानीको राम्रो स्रोत बन्नसक्ने उहाँको बुझाइ छ ।

झरना नजिक हरियाली चिया बगानसमेत रहेकाले यस क्षेत्रको स्वच्छ तथा सुन्दर वातावरणले नै पर्यटकलाई थप आकर्षित गर्ने सम्भावना रहेको स्थानीय बताउँछन् । खाँगे झरना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएका कारण पछिल्लो समय झरनालक्षित स्थानीय योजनाहरु कार्यान्वयन गर्न सुरु गरिएको छ । 

वडाको प्रस्तावमा सिरिजङ्घा गाउँपालिकाबाट खाँगे झरना हुँदै तिम्बुङपोखरी सडक योजनाका लागि चालू आर्थिकमा १५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । गत आवमा पनि गाउँपालिकाबाट पाँच लाख रुपियाँ बजेट बिनियोजन भएको थियो । गाउँपालिकाको बजेटले झरना जोड्ने सडक निर्माण हुँदैआएको र अब प्रदेश तथा सङ्घीय सरकारसँग पनि पर्यटन प्रवर्धनको कार्यक्रम माग गर्ने योजना बनाइरहेको जिल्ला समन्वय समिति सदस्य राईले बताउनुभयो । 

यता गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले सो झरनाको प्रवर्धन र विकासको योजनाका लागि सम्बन्धित वडा तथा स्थानीयको पहल अपुग भइरहेको बताउनुभयो । वडास्तरबाट नै झरनालक्षित पर्यटनसम्बन्धी योजनामा आवश्यक प्रस्ताव नआएका कारण पनि झरना ओझेलमा परेको हुनसक्ने उपाध्यक्ष लिम्बूको भनाइ छ ।