• २६ वैशाख २०८१, बुधबार

‘झ्याउरे गीत’ मा रम्दै शिव

blog

काठमाडौँ, भदौ ६ गते । नेपालको कर्णाली र गण्डकीलगायतका जिल्लामा बढी गाइने ‘झ्याउरे गीत’ अहिले अन्यत्र पनि उत्तिकै रुचाउन थालिएको छ । गीत सङ्गीतको बजारमा झ्याउरे गीतको छुट्टै महत्व र पहिचान बन्न थालेको छ । नेपालमा झ्याउरे गीतका युवा पुस्तालाई प्रतिनिधित्व गर्ने गायक हुनुहुन्छ शिव सङ्गीत । आधुनिक र पप गीतको रमझममा मौलिक संस्कृतिलाई बचाउनमा शिव सङ्गीतले युवा पुस्ताको प्रतिनिधित्व गर्नुभएको छ । बजारमा झ्याउरे गीत नभएका होइनन् तर  सुर्खेती पश्चिमेली झ्याउरे गीतलाई सङ्गीत बजारमा चिनाउने काममा शिव सङ्गीतको योगदान विशेष छ ।  

उहाँ नेपाली लोकनृत्यका अब्बल निर्देशक कुलमान नेपालीका जेठा छोरा हुनुहुन्छ ।  उहाँका गीत बजारमा आइसकेका छन् । ‘हातमा बाला सोल्टिना, आउनु है मायालु, सिम्तादरा, मारुनी, फूल फुल्यो बामरी’ लगायतका झ्याउरे गीतले उहाँको छुट्टै पहिचान बनाएको छ । आफ्नो मौलिक संस्कृतिमा लागिपर्नुभएका शिव अहिले साङ्गीतिक क्षेत्रलाई नै व्यावसायिक रूपमा अगाडि बढाइरहनुभएको छ । 

शिवको स्वर आधुनिक भए पनि उहाँको प्रमुख गायकी भनेको ‘झ्याउरे गीत’ नै हो । उहाँ भन्नुहुन्छ, “कर्णालीको मौलिक परिचय बोकेको झ्याउरे गीत उहाँको नसा नसामा बसेको छ ।” उहाँ झ्याउरे गायक मात्र नभएर रेडियोकर्मी सामाजिक अभियन्ता, समाजसेवी पनि हुनुहुन्छ ।  लोकगीतमा ‘झ्याउरे’ लाई उहाँले ब्रान्डिङ नै गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “कर्णालीको मौलिक झ्याउरेलाई राष्ट्रिय भाका बनाउन लागिपरेँ ।” 

लोक भाकाहरू, जनजिब्रोका गीतहरू लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै शिव आफूले मौलिकतालाई बचाउन हरसम्भव प्रयास गर्ने बताउनुहुन्छ । मौलिक लोक संस्कृतिमा लाग्छु र झ्याउरे गाउँछु भन्ने अर्को  कोही पनि नभएको उहाँको दाबी छ ।  उहाँले झ्याउरे गीतबाट नै राष्ट्रिय अवार्ड, म्युजिक खबर अवार्ड, एपिक अवार्ड, स्टार इन्टरनेसनल अवार्ड प्राप्त गरिसक्नुभएको छ । 

‘झ्याउरे गीत’ नेपालको पश्चिम क्षेत्रमा प्रचलित गुरुङ मगर जातिमा गाइने नाचिने लोकगीत हो । विशेष गरी लाहुरे अथवा प्रदेशी आफ्नो गाउँमा आउँदा आफ्नो प्रेमिकासँग माया साटासाट गरी प्रेमभाव शब्दद्वारा सँगै नाच्ने गाउने गीत नै ‘झ्याउरे गीत’ हो ।