• १३ मंसिर २०८१, बिहिबार

नेगीलाई तेक्वान्दोको छैटौं डान

blog

कामठाडौं, भदौ ५ गते । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौँ डानको प्रमाण पत्र प्राप्त गर्नुभएको छ । नेगीलाई नेपाल तेक्वान्दो सङ्घका महासचिव दिपराज गुरुङले कुकिवनबाट प्राप्त छैटौँ डानको प्रमाण पत्र मंगलबार हस्तान्तरण गर्नुभयो । 

छैटौँ डान प्राप्त गर्न नेपाल तेक्वान्दो सङ्घबाट छैटौँ डानको ग्रेडिङमा उत्तीर्ण गरेको हुनुपर्ने, पुम्से तथा स्पारिङ्गको भिडियो पठाउनु पर्ने र कुनै विषयमा थेसिस लेखेर हेडक्वाटर कुक्किवन कोरियामा पठाउनु पर्नेहुन्छ । पारा तेक्वान्दो इन नेपालमा थेसिस लेखेर पठाएको नेगीले जनाउनुभएको छ । 

नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समाल्दै आउनुभएको छ । टोकियो २०२० पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई फाईट जितेर इतिहास रच्दा नेगी प्रशिक्षक हुनुहुन्थ्यो । बहराइनमा भएको एसियन युथ पारा गेम्स– २०२१ मा नेपालले पारा तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ कांस्य पदक जित्दा पनि नेगी टोली प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो ।

नेगीको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोअन्तर्गत आठौँ विश्व च्याम्पियनसिप–२०१९ टर्कीमा १ कांस्य, साउदी अरवियामा भएको रियाद २०२२ विश्व ग्रान्ड प्रिक्स फाइनल जी–१० प्रतियोगितामा सिर्जना घिसिङले विश्व ¥याङकिङमा रहेका टर्की, मेक्सिको र ब्राजिलका खेलाडीलाई पराजय गरेर ऐतिहासिक स्वर्ण जितेको थियो ।

पलेशा गोवर्धन २०१५ तथा सिर्जना घिसिङ २०१९ देखि आफूसँग प्रशिक्षण गर्दै आइरहेको नेगीले जानकारी गराउनुभयो । नेगीका अनुसार हाल पलेशा गोवर्धन र सिर्जना घिसिङ विश्व वरीयताको सातौँ स्थानमा हुनुहुन्छ ।