• १३ मंसिर २०८१, बिहिबार

कविर र अभय रजतमै सीमित

blog

ब्याडमिन्टन उपाधि विजेता खेलाडीहरु ।

काठमाडौं, भदौ ५ गते । नेपालका कविर केसी र अभय महरा काठमाडौँमा जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यू– १७ पुरुष युगलतर्फ रजत पदकमा सीमित हुनुभएको छ । 

ब्याडमिन्टन एसियाको आयोजनामा भएको च्याम्पियनसिपको फाइलमा मंगलबार कविर र अभयको जोडी बङ्गलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहसँग २१–११, २१–११ को सोझो सेटमा पराजित हुनुभयो । 

नेपाल ब्याडमिन्टन सङ्घको सहआयोजनामा भएको च्याम्पियनसिपको यू–१७ को पुरुष एकतर्फ पनि बङ्गलादेशका उल्लाहले स्वर्ण हात पार्नुभयो । पुरुष युगलमा स्वर्ण जित्नुभएका उल्लाहले एकलमा श्रीलङ्काका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले पराजित गर्नुभयो । 

महिला एकलतर्फ श्रीलङ्काकी रनिथमा लियाङ्गेले आफ्नै देशका रनुमी मनागेलाई २१–६, २१–८ ले पराजित गर्दै स्वर्ण हात पार्नुभयो । महिला युगलतर्फ रनिथमाले रनुमी मनागेसँग मिलेर अर्को स्वर्ण जित्नुभयो । उक्त जोडीले मालदिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ को समान अन्तरले पराजित गर्नुभयो । 

मिक्स युगलतर्फ श्रीलङ्काका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१–१४, २१–१६ ले पराजित गर्दै स्वर्ण हात पार्नुभयो । 

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू–१५ तर्फ महिलाको एकलमा श्रीलङ्काकी नेथमी रत्नायकले श्रीलङ्काकै सिथुली रनसिंघलाई २१–१३, २१–१० ले हराउँदै स्वर्ण जित्नुभयो । नेथमीले मिक्स डबल्ससमा सेनुथ सेथमिता पेरेरासँग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२–२०, २१–१२ ले पराजित गर्दै अर्को स्वर्ण हात पार्नुभयो । 

पुरुषतर्फ बङ्गलादेशका वाली उल्लाहले बङ्गलादेशकै मोस्तकीम होसेनलाई २१–१५, २१–१५ को समान अन्तरले पराजित गर्दै स्वर्ण जित्नुभयो । मिक्स डबल्समा स्वर्ण जितेका सेनुथ सेथमिता पेरेराले पुरुष युगल तर्फ केनिथ अरुगोडासँग मिलेर बङ्गलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१–१५, १९–२१, २३–२१ ले पराजित गर्दै दोस्रो स्वर्ण जित्नुभयो । 

महिला युगलतर्फ पनि श्रीलङ्काका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जित्नुभयो। उक्त जोडीले नेपालका दिलासा राना र रिहाना शेरचनलाई २१–१२ ,२१–४ ले पराजित गर्नुभएको हो । 

श्रीलङ्काले यस च्याम्पियनसिपमा मिक्स टिम ईभेन्ट्समा दुई सहित नौ स्वर्ण हात पारेको छ । यस्तै बङ्गलादेशले तीन स्वर्ण जितेको छ । विजेतालाई ब्याडमिन्टन एसियाको डिभलपमेन्ट निर्देशक वाजिद अलि चौधरी, नेपाल ब्याडमिन्टन सङ्घ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक चन्द्र प्रकाश गौतम लगायतले पुरस्कार प्रदान गर्नुभयो ।