नेतृत्वका बारेमा बुझाइ आआफ्ना होलान् तर समाज विज्ञानका दार्शनिक कार्ल माक्र्सले भने झैँ “म केही हैन तर म हरेक चिज हुँ” भन्ने उत्प्रेरक भनाइले नेतृत्वका बारेमा सङ्केत गर्छ । हरेक समय नेतृत्वले म सबथोक हुँ भन्यो भने ऊ आफू पनि सकियो, समाज पनि ध्वस्त बनाउँछ । खासखास बेलामा अर्थात् सङ्कटका बेलामा म केही पनि हैन भन्यो भने पनि समाज ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन, त्यति बेला म सबथोक हुँ भन्न सक्नु पर्छ ।
नेतृत्वका बारेमा कार्ल माक्र्सको यो भनाइले राजनीतिक नेतृत्वलाई परिआएका बेला बलिदान गर्न र जोखिम मोल्न तयार हुने चरित्र नै नेतृत्वको चरित्र हो, त्यसमा पनि राजनीतिक नेतृत्वको अनिवार्य चरित्र हो भन्न सकिन्छ । यसै गरी नेल्सन मन्डेला भन्छन्, “वास्तविक नेतृत्व त्यो हो; जो जनताको स्वतन्त्रताका लागि सम्पूर्ण कुरा परित्याग गर्न तत्पर रहन्छ ।” उपरोक्त भनाइका आधारमा निष्कर्ष निकाल्न सकिन्छ, नेतृत्व त्यो हो; जसले आफूलाई म केही हैन भन्न सकोस् र परिआएका बेला आफूलाई सम्पूर्ण ठानी आफैँलाई बलिवेदीमा चढाउन पनि तत्पर होस् । राजनीतिक नेतृत्व त्यो हो; जसले सर्वकाल आफूलाई जनतासमान राख्न कोसिस गरोस्, परिआएका बेला जनतालाई नेतृत्व गर्ने उदाहरणीय कला क्षमता र साहस प्रदर्शन गर्न पनि सकोस् । सादापन र त्याग राजनीतिका विशिष्ट चरित्र हुने गर्छन् ।
नेपालको सन्दर्भमा राजनीतिक नेतृत्वको कुरा गर्दा मिश्रित उदाहरण भेट्न सकिन्छ । राणा शासनको दबदबा भएका बेला राणा शासकविरुद्ध नझुक्ने बरु फाँसीमा चढ्न तयार हुने दशरथ, गङ्गालाल, धर्मभक्त र शुक्रराजहरू पनि देखिए तर राणा शासकको चाकरीमा हाजिर हुनेहरूको लामबन्दीको पनि कमी थिएन । राजा महेन्द्रको फौजी कान्डविरुद्धमा जेल जान तयार हुने कांग्रेसको पङ्क्ति पनि देखियो, प्रजातन्त्र मास्ने र पार्टीमाथि प्रतिबन्ध लगाउने उक्त कदमको समर्थनमा बत्ती बाल्ने कांग्रेसको पनि कमी देखिएन । गणतन्त्रको नारा निश्चय गर्दा अबको राजनीतिक नारा गणतन्त्रभन्दा तलको हुनै सक्दैन भन्ने साहसीको पङ्क्ति पनि देखियो र नेपालमा गणतन्त्र ल्याउँछौँ भन्नु बयलगाडा चढेर अमेरिका जान्छु भन्ने जस्तै असम्भव कुरा हो भन्नेहरूको पनि कमी देखिएन ।
अब गणतन्त्र घोषणा गरौँ भन्दा तत्कालीन अवस्थाको शाही सेनाको परमाधिपति राजा नै भएका कारण राजाको आदेश तामेल गर्नुको विकल्प छैन भन्ने सेनापति, अहिल्यै गणतन्त्र भनियो भने राजावादीहरूको भोट पाइँदैन त्यसैले चुनाव हारिन्छ भन्ने र राजा फालियो भने देशै रहन्न त्यसैले राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणाको विकल्प छैन भन्ने कुरा विल्कुल अव्यावहारिक र देशविरोधी नारा हो भन्नेहरूको पनि कमी थिएन । संविधान सभाको पहिलो बैठकको साधारण बहुमतबाट राजतन्त्रको भविष्यका बारेमा निर्णय गरौँ भन्ने सहमतिमा भिन्न मत लेख्दै राजतन्त्रका बारेमा जनमत सङ्ग्रहबाहेक तलको तरिकाबाट निर्णय गर्न सकिन्न भन्ने मत पनि त्यतिकै दमका साथ राखिएको थियो ।
नेपाली राजनीतिको हरेक मोडमा जोखिम मोल्ने नेतृत्व र जोखिम मोल्नेभन्दा यथास्थितिसँग सम्झौता गर्ने प्रवृत्ति कहीँ न कहीँ देखा परेको साँचो हो । राजनीतिक नेतृत्वका लागि टिम, टाइम, ट्रोबल र ट्रान्जिसन जस्ता गुणका आधारमा राजनीतिक नेतृत्वको परीक्षण गरिन्छ । यो भनाइलाई सत्य मान्ने हो भने नेपालका राजनीतिक नेतृत्वको सकार र नकार चित्र देखा पर्छ ।
नेपाली राजनीतिक नेतृत्वको सकारात्मक चित्रका बारेमा चर्चा गर्दा राणा शासनविरुद्धको सङ्घर्ष र राणा शासनको अन्त्य पहिलो खुट्किलो हो । पञ्चायतविरुद्धको सङ्घर्ष र पञ्चायती शासनको अन्त्य दोस्रो खुट्किलो हो । एकात्मक शासनका ठाउँमा सङ्घीयता, राजतन्त्रका ठाउँमा गणतन्त्र, हिन्दु अधिराज्यका ठाउँमा धर्मनिरपेक्षता र असमावेशी राज्यका ठाउँमा समावेशी समानुपातिक राज्य प्रणाली नेपाली राजनीतिका आजसम्मका उत्कृष्ट नमुना हुन् । यसका साथसाथै राणा शासनविरुद्धको सङ्घर्षमा, पञ्चायतविरुद्धको सङ्घर्षमा र राजतन्त्रविरुद्धको सङ्घर्षमा समेत नेतृत्वकै पङ्क्तिबाट धोखाधडी भएको र राजनीतिक उपलब्धि भनेको बेलामा र भनेको तरिकाले हासिल हुन नसकेको अवस्था साँचो हो । यसको सबैभन्दा उत्कृष्ट उदाहरण भनेको गणतन्त्रका पक्षमा जनता राजनीतिको थालनीदेखि नै थिए ।
२००७ सालमा राजा त्रिभुवनले नै गणतन्त्रको घोषणा गरेका थिए तर राजनीतिक नेतृत्वको असक्षमताका कारणले सो गणतन्त्र उपभोग हुन सकेन, प्रजातन्त्रको घाँटी निमोठेर निरङ्कुशता लाद्ने कदमका विरुद्ध पनि क्रान्तिको आँधीबेहरी सिर्जना हुन सकेन । २०३६ साल, ०४६ साल, ०५२ साल वा ०६२/६३ सालमा समेत जनता उर्लिए, राजतन्त्र अन्त्यको माग सडकमा यत्रतत्र सर्वत्र घन्कियो तर आन्दोलनको बलमा, आन्दोलनको जनादेशका भरमा राजतन्त्रको अन्त्य गर्ने काम हुन सकेन । आन्दोलन भयो । आन्दोलन सकियो । आन्दोलनको एक समझदारीका रूपमा जस्तै गरी संविधान सभाको पहिलो बैठकबाट मात्रै मतदान प्रक्रियावाट राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्न सम्भव भयो । जुन कुरा आन्दोलनको बलमा घोषणा भएको हुन्थ्यो भने त्यसको मूल्य अर्कै हुने थियो होला ।
सायद आन्दोलनका बलमा राजतन्त्र अन्त्यको घोषणा भएको हुन्थ्यो भने अहिले राजतन्त्र पुनस्र्थापनाको माग उठ्दैनथ्यो होला । यसका बारेमा राजनीतिक नेतृत्वले आँट र साहस गर्न सकेन कि भन्ने कुरा अनुमान गर्न सकिन्छ । सबै बेला म केही हैन भने पनि राजतन्त्र आन्दोलनका बलमा अन्त्य गर्ने मामलामा म सबथोक हुँ भन्ने राजनीतिक नेतृत्व भएको भए र त्यही साहस र जोखिमका साथ घोषणा गर्न सकेको भए नेपाली राजनीतिको चित्र यति बेला अर्कै हुने थियो कि ? यति बेलाको राजनीतिक नेतृत्वको चुनौती भनेको नयाँ संविधानपश्चात् सोको कार्यान्वयनमा भरपूर क्षमता, साहस र आँट देखाउन सक्ने कि नसक्ने भन्ने पहिलो पङ्क्तिमा देखा पर्दछ ।
दोस्रो पङ्क्तिमा एकात्मक शासन प्रणालीको अन्त्य गरेर सङ्घीय प्रणाली अवलम्बन गरेको नेपालको हरेक क्षेत्रमा सङ्घीयकरणको अभियान थाल्ने नेतृत्वको खाँचो छ । यसका लागि संविधान निर्माणका बखत चुकेको न्यायालयको सङ्घीयकरण प्राथमिकतामा पार्न जरुरी छ । यसै गरी राजनीतिक पार्टीहरूको सङ्घीयकरण अबको एजेन्डा बन्नु पर्छ । राजनीतिक दल र न्यायालयलाई सङ्घीयकरण गर्न आँट गर्ने राजनीतिक नेतृत्व आजको खोजीको विषय हो भने सङ्घीयतालाई उल्टाएर फेरि पुरानै अवस्थामा फर्काउने षड्यन्त्रको तानाबानामा साजिस गर्ने नेतृत्वको पनि कमी छैन भन्ने कुरा बुझ्न जरुरी छ ।
तेस्रो र आर्थिक–सामाजिक रूपान्तरणसँग जोडिएको मामला भनेको भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हो । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी काण्ड र सुन काण्ड भ्रष्टाचारीका धन्दा र सुशासनका चुनौती हुन् । यी सुशासनका मामलामा निर्मम बन्न सक्ने नेतृत्वको खोजी आजको आवश्यकता हो । राजनीतिक वृत्तमा यस प्रकारका काण्डमा मुछिएका र यी मामलालाई थामथुम पार्ने प्रयत्न पनि भगीरथ रूपमा नै भएको छ । त्यस खाले नेतृत्वका विरुद्धमा निर्मम बन्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा माहौल खडा गर्ने र परिआएका बखत बलिदान गर्न पनि तयार हुने नेतृत्व यति बेलाको अनिवार्य आवश्यकता बन्न पुगेको छ ।
चौथो र अत्यन्तै महत्वको मामला भनेको समाजवादी क्राान्तिको थालनी गर्ने, नेतृत्व गर्ने र आमजनतालाई गोलबन्द गर्ने कुराको हो । समाजवादी क्रान्तिका लागि निजी सम्पत्तिको मोह त्याग्ने र सामूहिक सम्पत्तिको सिर्जना गर्ने अभियान पनि हो । पैसाले पद, प्रतिष्ठा र पावर सबै खरिद गर्न सक्छ भन्ने मनोविज्ञान हाबी भएको यो घडीमा पैसा र निजी सम्पत्ति प्रधान मानसिकता समाजवादी क्रान्तिका लागि घातक छ भन्ने सन्देश दिन सक्ने नेतृत्व यति बेलाको आवश्यकता हो ।
आजका दिनमा नेपाली राजनीतिक नेतृत्व सच्चिने कि सक्किने भन्ने दोसाँधमा उभिएको छ । आजसम्म नेपाली समाजमा हाबी भएका विकृति/विसङ्गतिको दोष पनि वर्तमान राजनीतिक नेतृत्वमा नै जान्छ । सारा विकृति/विसङ्गतिको सिर्जनाकर्ता वर्तमान राजनीतिक नेतृत्व नै हो । ऊ सच्चिने हो भने ती विकृति/विसङ्गतिका विरुद्धमा जेहाद छाडेर लाग्न जरुरी छ । विकृति/विसङ्गतिका विरुद्ध जाइलाग्ने प्रतिबद्धतासँगै अपराध र भ्रष्टाचारसँग सम्झौता नगर्ने सार्वजनिक वाचा गर्न जरुरी छ । भ्रष्टाचारको स्रोत निजी सम्पत्ति हो भने त्यसलाई सामाजिक गुठीमा हस्तान्तरण गर्ने अभियानको थालनी गर्न जरुरी छ ।
सबैभन्दा जरुरी कुरा भनेको जीवनशैली पारदर्शी बनाउने र अवैध आम्दानीले ऐयासी गाडी र आलिसान महलको उपभोगभन्दा वैध आम्दानीले डेराको वास र सार्वजनिक यातायातको यात्रासहितको साधा जीवन व्यतीत गर्ने प्रण गर्न जरुरी छ । यति गर्न सकियो भने राजनीतिक नेतृत्व सक्किने हैन, सच्चिने आशा गर्न सकिन्छ । राजनीतिक नेतृत्वले त्यो आँट गर्न सक्दा आजका दिनमा देखिएको राजनीतिक नेतृत्वको सङ्कट टार्न पनि सघाउ पुग्ने विश्वास गर्न सकिन्छ ।