शेरबहादुर राई
ओखलढुङ्गा, भदौ ४ गते । पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दर घट्दो क्रममा छ । विशेषगरी गाई गोरुमा लाग्ने लम्पी स्किनविरुद्धको खोप अभियानलाई तीव्रता दिन थालिएसँगै सङ्क्रमण दर घट्न थालेको हो ।
जिल्लामा अहिलेसम्म लम्पी स्किन रोगका कारण ३९२ पशु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाका प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक सुशीलकुमार अधिकारीले बताउनुभयो ।
नौ हजार ३१९ पशु यस रोगबाट सङ्क्रमित भएको प्रमुख अधिकारीको भनाइ छ । सात हजार १९६ वटा पशु निको भएको अधिकारीले जानकारी दिनुभयो । चम्पादेवी गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहका गाई गोरुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
अभियानका रुपमा सुरु गरिएको लम्पी स्किनविरुद्धको खोप हालसम्म पाँच हजार ३८९ पशुलाई लगाइ किएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार हालसम्म चिशंखुगढीमा एक हजार ८५०, लिखुमा एक हजार ७६४, सिद्धिचरण नगरपालिकामा ७००, सुनकोशीमा ४५०, खिजीदेम्बामा ४०० र मानेभन्ज्याङ गाउँपालिकाका ७५ वटा पशुलाई खोप लगाइएको छ ।