• ५ जेठ २०८१, शनिबार

हङकङ र थाइल्याण्ड एसिया यू–२० रग्बी सेभेन्स च्याम्पियन

blog

पुरुषतर्फ उपाधि विजेता हङकङ टोली ।

काठमाडौं, भदौ ३ गते । हङकङ र थाइल्याण्डले नेपालमा भएको एसिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा हङकङले पुरुष र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा महिलातर्फ सम्पन्न डबल राउण्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा थाइल्याण्डले हङकङलाई पछि पार्दै उपाधि जितेको हो । चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्याण्डले समान १६ अङ्क प्राप्त गरेको थियो । तर, १३ स्कोरअन्तरमा हङकङलाई पछि पार्दै थाइल्याण्ड च्याम्पियन भयो ।

यी दुईबीच पहिलो लेगमा हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्याण्डले १९–१२ ले बदला लिन सफल भयो । लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएन र थाइल्याण्डले विजयी उत्सव मनायो ।

मलेसिया तेस्रो हुँदा नेपाल पुछारमा रह्यो । पुरुषतर्फ फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो । अन्तिम ३० सेकेण्ड बाँकी छँदा दुवै टोली १४–१४ को अवस्थामा थिए ।


तर, हङकङले अन्तिम समयमा ट्राई गर्दै जित दर्ता गर्न सफल भयो । यसअघि पाँचौँ स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ ले हार खेप्यो । अन्तिम २० सेकेण्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार व्यहोरेको हो ।

प्रतियोगिताको विजेतालाई एसिया रग्बीका अध्यक्ष कायस अलधलाई, राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव एवं एसिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा लगायतले पुरस्कार प्रदान गर्नुभयो । 

दुई दिने प्रतियोगितामा पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा भएको थियो । महिलामा भने चार टोलीबीच डबल लिगमा प्रतियोगिता भएको थियो ।