• ११ असोज २०८१, शुक्रबार

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ २ गते । बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय फैसला भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई नौ महिना कैद सजाय फैसला भएको हो । 

सोही विद्यालयका दुई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको इजलासले धमलालाई उक्त सजाय फैसला गरेको श्रेस्तोदार विनोद कुमार घिमिरेले बताउनुभयो । 

यसका साथै धमलालाई ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ जरिवाना समेतको फैसला भएको श्रेस्तेदार घिमिरेको भनाई छ । गत चैत महिनामा बालिकाका आफन्तले प्रधानाध्यापक विरुद्ध प्रहरीमा बाल बाल यौन दुर्व्यवहार गरेको आरोप लगाई जाहेरी दिएका थिए । 

उजुरी पश्चात् प्रहरीले पक्राउ गरेको धमलालाई जिल्ला अदालतले साधारण तारेखमा छोडेको थियो । साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्कनुभएका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतले साउन २९ गते न्यायाधीश आचार्यको इजलासले नौ महिना कैद सजायको फैसला गरेको हो । धमलाको जागिरको विषयमा फैसलामा केही उल्लेख भएको छैन ।