साहारा लिम्बू
फुङलिङ, जेठ २६ गते । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रूपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
नौ वटा स्थानीय तह रहेको ताप्लेजुङको हरेक पालिकाले छनोट गरेर पठाएको एक–एक जना उत्कृष्ट कृषकलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको केन्द्रका कार्यालय प्रमुख विमला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा याङवरक गाउँपालिकाका उत्कृष्ट कृषक सन्तोष खिम्दिङ, फक्ताङलुङ गाउँपालिकाका भक्तबहादुर कार्की, फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की र सिरीजङ्घा गाउँपालिकाका छत्रमान कुँवरलाई सम्मान गरिएको छ ।
यस्तै, मेरिङदेन गाउँपालिकाका विजयप्रकाश चोङबाङ, मिक्वाखोला गाउँपालिकाका डम्बरबहादुर बस्नेत, सिदिङवा गाउँपालिकाका इन्द्रबहादुर लिम्बू मैवाखेला गाउँपालिकाका छत्रबहादुर लिम्बू र आठराई त्रिवेणी गाउँपालिकाका उत्कृष्ट कृषक शङ्करप्रसाद श्रेष्ठलाई सम्मान गरिएको प्रमुख पोखरेलले बताउनुभयो ।
सम्मानित हुने कृषकहरूले किवी फल, काजु, अलैँची लगायतका फलफूल, सागसब्जीलगायतका बाली लगाएको कृषकहरूले बताएका छन् । आफ्नो पेसाको मल्याङ्कनसहित सम्मान प्रकट गरेको प्रति आभार प्रकट गर्दै भविष्यमा थप उर्जा प्राप्त भएको सम्मानित कृषकहरूले बताएका छन् ।
उत्कृष्ट कृषकलाई जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङखिम र कार्यालय प्रमुख पोखरेलले संयुक्त रूपमा सम्मान गर्नुभयो ।