• २६ जेठ २०८२, सोमबार

भन्सार विधेयक २०८० स्वीकृत

blog

काठमाडौँ, जेठ २६ गते । राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

 उक्त प्रतावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले प्रस्तुत विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

“राजस्व चुहावट रोक्न, भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन, अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न विधेयकले योगदान दिने छ”, उहाँले भन्नुभयो ।

 सो प्रस्तावमाथिको छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, डा. बेदुराम भुसाल, तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र गोपाल भट्टराईले भाग लिनुभएको थियो ।

 राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने बताउनुभयो ।  

त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभयो ।