काठमाडौँ, जेठ २६ गते । प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।
मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा भएको फाइनलमा कोशीले गण्डकी प्रदेशलाई ५–३ गोलले हरायो ।
कोशीका लागि मनोज चौधरीले दुई तथा प्रदीप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले एक एक गोल गर्नुभयो। गण्डकीका अशिम बहिकले दुई तथा पवन परियारले एक गोल गर्नुभयो ।
कोशी मनोज चौधरी फाइनलको ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो। उपाधिसँगै कोशीले ३० हजार तथा उपविजेता गण्डकीले २० हजार रुपियाँ पुरस्कार पायो ।
बागमती प्रदेश हक्की सङघद्वारा आयोजित प्रतियोगितामा कोशीका रोशन चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । गण्डकीका पवन परियार उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक र बागमतीका सुजल महर्जन उदीयमान खेलाडी बन्नुभयो ।
प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बन्नुभयो । विजेतालाई पूर्व मन्त्री महेश बस्नेतलगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम गरी ६ टोलीको सहभागिता रहेको थियो ।