अमरराज नहर्की
तनहुँ, भदौ १ गते । तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । जिल्ला सभाको गेटमा शारीरिक अशक्त भएका व्यक्तिहरुको सङ्घर्ष समिति तनहुँले शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।
उक्त भवन पुर्णरुपमा मानवमैत्री-अपाङ्गता मैत्री बनाउने प्रक्रिया सुरु नभए भदौ १ गतेदेखि चरणवद्ध आन्दोलनमा आउने भन्ने पूर्व निर्धारित कार्यक्रम अनुसार विरोध प्रर्दशन गरिएको सङ्घर्ष समितिका संयोजक मदन पौडेलले जानकारी दिनुभयो । शारीरिक अशक्त भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा ऐन २०७४ मा उल्लेख भए बमोजिमा अपाङ्गतामैत्री संरचना बनाउने पर्ने माग उनीहरुले राखेका हुन् । सो ऐन अनुसार सेवा प्रदायक निकायहरुबाट अपाङ्गता मैत्री भौतिक पूर्वाधार, सूचना तथा प्रविधियुक्त वातावरणमा सेवा प्राप्त गर्ने अधिकार भएपनि सो कार्यान्वयन नभएकोले विरोध गरिएको पौडेलले बताउनुभयो ।
करिब एक महिनाअघि असार ७ सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा सङ्घीय सरकारको लगानीमा यहाँ निर्माण भइरहेको जिल्ला सभागृह हलको अवलोकन गरेको थियो । अवलोकनका क्रममा अपाङ्गमैत्री नभएको पाईएको थियो । अपाङ्गमैत्री बनाउने पर्ने माग राख्दै साउन १० गते जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाइएको र सो पत्रको बोधार्थ सरोकारवाला विभिन्न निकायहरूमा पठाइएको थियो । साथै श्रावण २१ गते राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायतका पदाधिकारी र जिल्लामा क्रियाशील अपाङ्गता भएका व्यक्तिहरु सहितको एक प्राविधिक टोलीले उक्त भवनको पहुँचयुक्त परिक्षण गरेको थियो ।
उक्त परिक्षणको क्रममा भवन नेपाल सरकार पक्षधर रहेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६, विभिन्न ऐन, नियमावली, निर्देशिका र आचारसंहिता अनुरुप मानवमैत्री र अपाङ्गता मैत्री नभएको पाइएकाले यसलाई सुधार गर्न आग्रह गरिएको थियो ।
महासङ्घले श्रावण २८ गते नेपाल सरकार शहरी विकास मन्त्रालय सहरी विकास भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरा समक्ष विभिन्न १४ बुँदे सुझावहरु पेश गरेको थियो। शारीरिक अशक्त भएका व्यक्तिहरुलाई समाजबाट झनै एक्ल्याउने मनसायबाट यस्ता भवनहरुको निर्माण भएको र ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको थियो । भवन पूर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएकोले आन्दोलनमा उत्रिनु परेको सङ्घर्ष समितिले जनाएको छ ।