• ११ मंसिर २०८१, मङ्गलबार

मुद्दा दर्ता सङ्ख्या बढेपछि कार्यान्वयनमा चुनौती

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौ१ गते । केही समयअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा छिमेकीले कुखुराका खुट्टा भाँचिदिएको भन्दै निवेदन दर्ता भयो । निवेदनपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गरायो । छलफलपछि दुवैजनाबीच सहमति भयो र विवाद टुङ्गियो ।

कुखुरा धनीलाई प्रहरीले कुखुराको मूल्य लिएर मिलापत्र गर्न सुझाव दिएपछि कुखुरा धनीले कुखुराको पनि मानिसको जस्तो जीवन हुने भएकाले मूल्य लिएर मिल्न नसक्ने भन्दै अडान राखेका थिए । अन्ततः मिलापत्र भयो ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा जथाभावी मुद्दा दर्ताका लागि आउनेको सङ्ख्या बढिरहेको छ । प्रहरी अधिकृतका अनुसार रिसइबी साँध्न ल्याइएका मुद्दा दर्ताका लागि राजनीतिक दबाब आउनेगरेको छ । 

प्रहरीको यस खालका मुद्दा मामिलामा ध्यान पर्न थालेपछि गम्भीर मुद्दाको अनुसन्धानमा समय दिन नसकिएको ती प्रहरी अधिकृतको भनाइ छ । एउटा पक्षले मुद्दा लिएर प्रहरी कार्यालयमा पुग्दा अर्को पक्षले समेत अर्को प्रकृतिको मुद्दा लिएर प्रहरीमा पुग्नेगरेका छन् । 

मुद्दा लिएर प्रहरीमा पुग्नेगरेको पक्षले राजनीतिक दलका नेता र जनप्रतिनिधिलाई फोन गर्न लगाएर वा साथमै लिएर आउनेगरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले प्रहरीमा मुद्दा दर्ता बर्षेनी बढ्दो क्रममा रहेको जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष २०७९–८० मा बाँकेमा एक हजार ४७९ मुद्दा दर्ता भएका छन् । आव २०७७–७८ मा ८१३ र आव २०७८–७९ मा एक हजार १५७ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाङ्गीले भन्नुभयो, ‘प्रहरीमा दर्ता हुने प्रमुख मुद्दामा बैङ्किङ कसुर र लागूऔषधका धेरै छन् ।’ मुद्दा दर्ता सङ्ख्या बढ्दै गएपछि कार्यान्वयनमा चुनौती थपिदै गएको उहाँको भनाइ छ ।