• १२ असार २०८१, बुधबार

आँखा पाक्ने समस्या बढेपछि विद्यालय बन्द

blog

तानसेनस्थित लायन्स लाकौल आँखा अस्पतालमा आँखा जाँच गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन ३२ गते । विद्यालयका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएपछि पाल्पास्थित रामपुरका सात वटा विद्यालय बन्द गरिएको छ । जिल्लाको रामपुर नगरपालिकाभित्रका सात वटा संस्थागत विद्यालयहरू चार दिनका लागि बन्द गरिएको हो । 

नगरभित्रका सात विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा आँखा पाक्ने समस्या फैलिएपछि विद्यालय बन्द गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) रामपुरले जनाएको छ। अभिभावक र नगरपत्रिकाको अनुरोधमा चार दिनका लागि विद्यालय बन्द गरिएको प्याव्सन रामपुरका सदस्य गोविन्द पौडेलले जानकारी दिनुभयो । 

रामपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई आँखा पाक्ने समस्याको अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न सक्ने निर्णय गरेको थियो । रामपुरमा सात वटा विद्यालयका गरी करिब तीन हजार विद्यार्थी र करिब एक हजार शिक्षक कर्मचारीमध्ये ४० प्रतिशत बढीमा आँखा पाक्ने समस्या देखिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यालय बन्द गर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । 

पाल्पामा केही दिनयता आँखा पाक्ने समस्या बढ्दो छ । तानसेनमा आँखा पाक्ने समस्या आँखाका जाँच गर्न आउने बिरामीमध्ये झण्डै ५० प्रतिशतमा समस्या देखिएको लायन्स लाकौल आँखा अस्पताल पाल्पाका सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिनुभयो । आँखा पाक्ने समस्या बढेपछि सङ्क्रमण फैलन नदिन छुट्टै कक्ष तयार गरी उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

पाल्पामा आँखा पाक्ने रोग फैलिएपछि विभिन्न अस्पतालले छुट्टै कक्ष स्थापना गरेर बिरामीको उपचारको व्यवस्था गरेका छन् । पाल्पा अस्पतालमा पनि आँखा पाक्ने रोगका बिरामी बढेको मेडिकल सुपरीटेन्डेन्ट डा. विवेक भण्डारीले जानकारी दिनुभयो ।