• १३ मंसिर २०८१, बिहिबार

पाँच दिनपछि सिमकोट विमानस्थलमा पुनः उडान सुचारु

blog

राजन रावत

हुम्ला साउन ३१ गते । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान अवरुद्ध भएको पाँच दिनपछि पुनः हवाई सेवा सुचारु भएको छ । बिहान एघार बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्सहरूले उडान भर्न सफल भएका हुन । 

सिमकोट विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलर मनोज दंगालले हवाई सेवा सुचारु भएको बताउनुभयो । बिहान भरि सिमकोट क्षेत्र र हुम्ला आउने हवाई मार्गको इनरुटको मौसम खराब हुँदा उडान हुन नसकेपछि एघार बजेपछि मौसममा सफा हुँदा नेपालगन्ज र सुर्खेतबाट हवाई जहाजले उडान भर्न सफल भएको उहाँले बताउनुभयो । जसमा समिटका दुई वटा जहाजले एक एक उडान भरेका थिए भने सीता एयरले दुई र तारा एयरले एक गरी पाँच वटा उडान भरिएका छन् । बुधबार भरिएका उडानमा चार वटा नेपालगन्ज र एक उडान सुर्खेतबाट भरिएको हो । 

अवरुद्ध उडान सुचारु भएसँगै चार दिन अघि अस्पतालले रिफर गरेका तीन जना बिरामीहरूको उद्धार भएको छ । नेपालगन्जमा आठ दिनदेखि रोकिँदै आएका यात्रुहरू आउन पाउनु भएको छ । त्यसैगरि दैनिक उपभोग्य बस्तु पनि ढुवानी हुन पाएको छ । 

नागरिक उड्डयन प्राधिकरणले लागु गरेको उडान तालिम अनुसार हुम्लाको मौसम राम्रो भएको भएपनि साढे बाह्र बजेपछि भने उडान बन्द गरिएको छ । यसको विरोध गर्दै हुम्लावासीले बिहान एघार बाह्र बजेपछि मात्र मौसममा सुधार आउने भएको कारण उडान तालिका परिवर्तन गर्न माग हुँदै आएको छ ।