• २८ वैशाख २०८१, शुक्रबार

मेलमिलापबाटै विवाद समाधान

blog

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, साउन ३१ गते । सिन्धुपाल्चोकका अधिकांश विवाद मेलमिलापबाट समाधान हुने गरेका छन् । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको मेलमिलाप अभियान र बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियानमार्फत सिन्धुपाल्चोकका विवाद समाधान गर्ने गरिएको जनाइएको छ । 

उक्त संस्थाका राष्ट्रिय स्रोत व्यक्ति नेत्र धितालले गत वैशाखसम्ममा २९८ विवाद  बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियानमार्फत मेलमिलाप गरी टुङ्ग्याइएको जानकारी दिनुभयो । जलसँग सम्बन्धित ३९ वटा, जमिनसँग सम्बन्धित ९३ र जङ्गलसँग सम्बन्धित १५७ वटा विवाद मेलमिलाप अभियानबाटै मिलाइएको छ । साथै मेलमिलाप अभियान अन्तर्गत तीन हजार १५९ विवाद मेलमिलापबाटै समाधान भएको उहाँले बताउनुभयो । ५४ वटा मुद्दा सम्बन्धित निकायमा पठाइएको छ । धितालका अनुसार विवाद स्थानीय तहको साझेदारीमा दुवै पक्षको जित हुने र दिगो रूपमा मेलमिलाप प्रक्रियाबाट समाधान गरिँदै आएको छ । 

विवादको उत्कर्षमा पुगेको इन्द्रावती गाउँपालिका–४ स्थित बुद्ध सामुदायिक वनको आर्थिक सुशासन तथा ढुङ्गा गिट्टी उत्खननसम्बन्धी विवाद, चौतारा साँगाचोकगढी नगरपालिका–३, बतासेको हेल्थपोस्ट निर्माणसम्बन्धी विवाद अभियानले समाधान गरेको छ । मेलम्ची नगरपालिका–१२ को नाम्डोलिङ एकीकृत बस्तीको जग्गा व्यवस्थापन तथा लालपुर्जासम्बन्धी विवाद उक्त संस्थाले मेलमिलापबाट टुङ्ग्याएको हो ।